ओलीले मलाई ज्यान मार्ने उद्योगमा फसाउन ‘मास्टर प्लान’ बनाएका छन् : दुर्गा प्रसाईं

ओलीले मलाई ज्यान मार्ने उद्योगमा फसाउन ‘मास्टर प्लान’ बनाएका छन् : दुर्गा प्रसाईं

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमा फसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन्।

एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र बस्नेतको मिलोमतोमा आफूविरुद्ध उकासेर भिडियो बनाउन लगाएर फसाउन खोजिएको प्रसाईंको दाबी छ।

शनिबार पत्रकार सम्मेलनमा प्रसाईंले आफू विरुद्ध सिंगो एमाले लागेको आरोप मात्र लगाएनन्, युवा संघका इन्चार्ज बस्नेत मुछिएको यौन हिंसा प्रकरणमा आफूलाई फसाउनकै लागि दुर्गा पाठकलाई भिडियो बनाउन लगाएको बताएका छन्।

‘म मंसिर सात गते आन्दोलन गरिसकेपछि आफ्नो बाटोमा हिँडेको थिएँ। तर, बीचमा महेश बस्नेत, केपी ओली र एमालेको डिजाइनमा ठूलो षड्यन्त्र बनाएका रहेछन्,’ उनले भने, ‘दुर्गा पाठकलाई बस्नेतका कार्यकर्ताले पीडितलाई मारे भने दुर्गा प्रसाईं र सरकारले जिम्मेवारी लिनुपर्छ भनेर भिडियो खिचेको रहेछ। यो गर्न खोजेको के हो?’

पाठकलाई अब सुरक्षा आफूले दिने घोषणा गरेका प्रसाईंले ओली, बस्नेत र सिङ्गो एमालेलाई आफूसँग नठोकिन चेतावनी दिएका छन्।

आफूले भिडियो पाएपछि प्रहरी महानिरीक्षकलाई समेत पठाएको चर्चा गर्दै प्रसाईंले ओलीलाई कार्यकर्तालाई सम्झाउन सुझाव दिए। नभए ओली महेश बस्नेत, निर्भयबाबु प्रसाई, बब्लु गुप्ताविरुद्ध मुद्दा हाल्ने चेतावनी पनि दिए।

यस्तै, पीडित भनिएकी युवा संघ नेपालकी केन्द्रीय सदस्य दुर्गा पाठकले आफूलाई महेश बस्नेतले शोषण गरेको दावी गरेकी छन्। उनले पछिल्लो समय बस्नेत र उनको सम्बन्ध बाहिर आएपछि प्रसाईंलाई फसाउन आफूलाई धम्क्याएर बस्नेतका मान्छेले भिडियो बनाएको र त्यसकै आधारमा व्याकमेल गरेको बताइन्।

पत्रकार सम्मेलनमा उपस्थित पाठकले भनिन्, ‘म यहाँ आज आउनुको कारण भनेको दुर्गा दाई नफसुन् भनेर नै हो। म आफैँ संवेदनशील अवस्थामा छु र यिनीहरु सबै मिलेर मलाई मार्न खोजिरहेका छन्।’

पाठकले थपिन्, ‘केही समय अगाडि महेश बस्नेत र नवीन बस्नेत मिलेर पेप्सिकोलाको कोरिडोरमा एउटा डिपार्टमेन्ट स्टोर छ त्यहाँ बोलाएर मलाई चिट लेखेर दिए र मलाई बोल्न लगाएर भिडियो बनाए। महेश बस्नेतसँगको सम्बन्ध मेरो केही पनि होइन, यो सबै फोटोहरू एआईबाट बनाइएको हो र म मरे भनेँ दुर्गा प्रसाईं र नेपाल सरकारले जिम्मा लिनुपर्नेछ भनेर बोल्न लगाइयो। आफूलाई मार्छन् भन्ने डरले बाध्य भएर भिडियोमा मैले बोलेको हो।’

पाठकले बब्लु गुप्ता भन्ने व्यक्तिले भिडियो बनाएको दाबी गरेकी छन्। पछिल्लो समय मिडियामा पनि गएकी उनी प्रहरीले आफूलाई बस्नेतको पावरकै कारण सहयोग नगरेको आरोप लगाएकी छन्।

प्रसाईंले सहकारी ठगीमा सबैभन्दा धेरै एमालेका मान्छे रहेकाले एमाले छानबिन गर्न डराएको आरोप लगाएका छन्।

प्रसाईंले भने, ‘सहकारीमा रास्वपा भनेको २ प्रतिशत हो, ३३ प्रतिशत कांग्रेस र ७० प्रतिशत सहकारीमा ठग्ने एमाले हो। किन आज सहकारीको छानबिन हुँदैन भन्दा एमालेले हुन दिँदैन। जिवी राई एमालेको मान्छे हो। सिबी लामा भनेको कांग्रेसको मान्छे हो, उसले संसदमा टिकट दिन लागेको मान्छे हो। सबै पार्टीभित्रका मान्छे मिलेर सहकारीको पैसा लुटेर खाए।’

जेठ १२, २०८१ शनिबार १३:४१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।