फिल्ममा डेब्यु गर्दै सीतादेवी, श्रीमतीले कडा बोलेपछि माइक तान्दै माग्नेले भने- ‘खासमा हामी सिक्दै हो’

फिल्ममा डेब्यु गर्दै सीतादेवी, श्रीमतीले कडा बोलेपछि माइक तान्दै माग्नेले भने- ‘खासमा हामी सिक्दै हो’

काठमाडौं : एक दशकअघि हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’मा जमेका कलाकार थिए केदार घिमिरे (माग्ने बुढा) र सीताराम कट्टेल (धुर्मुस)। उनीहरूबीच राम्रै दोस्ती जमेको थियो भने कार्यक्रममा पनि सँगसँगै हिड्थेँ।

दर्शकको रोजाइमा परेका केदार र सीतारामबीच दरार कुञ्जना घिमिरेका कारण भएको हल्ला पनि नचलेको होइन। तीन जनाले स्टेज कार्यक्रमका लागि आयोजकसँग एक लाख लिने गरेको चर्चाले राम्रै हल्ला चलेको थियो।

त्यसरी आउने पारिश्रमिक भाग लगाउँदा चित्त नबुझेपछि केदारले मेरी बास्सैबाट हात झिकेका चर्चा पनि त्यसबेला भएकै हो। त्यसपछि सीताराम श्रीमती कुञ्जना च्यापेर कार्यक्रममा हिँड्न थाले।

सीतारामसँग रुष्ट भएका केदारले पछि आफ्नी श्रीमती सीतादेवी तिमिल्सेनालाई साथमा लिएर स्टेज कार्यक्रममा हिँड्न थाले। दर्शकले नचिनेको कलाकार साथमै लैजाने भएपछि स्टेज कार्यक्रमको अफर आउनै छाड्यो।

त्यसैको प्रभावमा उनले श्रीमती सीतादेवीलाई हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’, ‘सक्किगोनी’मा अभिनय गराउन पठाए। केदारको आदेश शिरोपर गर्दै कुमार कट्टेल र अर्जुन घिमिरेले आफ्नो टेलिश्रृंखलामा उनलाई अभिनय गराए, त्यो पनि पाँडेको श्रीमती चन्द्रमुखीको भूमिकामा।

उनले ‘कसैलाई नभन्नु नि’ भन्ने थेगोमा आफूलाई स्थापित गर्न कोसिस गरिन्। तर, खासै सफल भइनन्। अहिले उनै सीतादेवी फिल्ममा डेब्यु गर्दैछिन्।

‘चपली हाइट’लगायतका फिल्म निर्माता अर्जुन कुमारको लगानीमा बन्ने फिल्म ‘सानो संसार’मा मुख्य भूमिकामा उनी अनुबन्धित भएकी हुन्। शुक्रबार बिहान ९ बजे कमलादीस्थित गणेश मन्दिरमा फिल्मको मुहर्त भयो।

अर्जुन कुमारको निर्माणमा बन्ने फिल्मबाट सिद्धार्थ पुडासैनीले निर्देशकीय डेब्यु गर्दैछन्। फिल्ममा अर्जुनले नयाँ निर्देशक मात्र नभएर कलाकार पनि नयाँ नै राखेका छन्। नयाँ कलाकारबाट ‘नयाँ चिज आउने’ उनको तर्क छ।

फिल्ममा सीताको अलावा अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, राज पंगेनी शर्माको अभिनय रहनेछ। मुहर्त कार्यक्रममा सीताको अलवामा उनका श्रीमान् केदार पनि उपस्थित थिए।

कार्यक्रममा सीताले आफूलाई अभिनय गर्ने चाहनाका कारण फिल्ममा आएको बताइन्। उनले अलि कडा स्वभावमा आफ्ना कुरा राखिन्।

उनले भनिन्, ‘हामी श्रीमान्-श्रीमती हो। चाहना एउटै हुन सक्दैन र? मलाई पनि चाहना भो, रहर भो। मैले पनि रिक्वाेइस्ट गरिराखेको थिए।’

उनको कुरा भुइँमा खस्न नपाउँदै श्रीमान् केदारले श्रीमतीको हातबाट माइक ताने र कुरा घुमाए।

उनले भने, ‘कुरा यस्तो चाहिँ हो, सुरुमा मेरी बास्सै, जुरेली, भद्रगोल, सक्किगोनीमा काम गरिसक्नुभएको हो। सिरियलहरू खेल्दै आउनुभएको छ। छोरा आशिष चाहिँ मेरी बास्सैमा धन्दुकारी भएर खेलेको थियो। अत्यन्त तीव्र खेल्ने इच्छा थियो, ब्याचलर नसकी रहर नगर्नु भनेको थिए। बास्तवमा हामी सिक्दै हो।’

अर्जुन कुमार फिल्मस्को प्रस्तुति र राजधानी मिडिया एड प्रालि प्रोडक्सनको सहकार्यमा बन्न लागेको फिल्मको कथा निर्देशक पुडासैनी र सरिष्मा पुडासैनीले मिलेर लेखेका हुन्।

जेठ १२, २०८१ शनिबार १२:४५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।