दलका शीर्ष नेताको बैठकमा पनि सहकारी छानबिन समितिको कार्यादेशमा भएन सहमति

दलका शीर्ष नेताको बैठकमा पनि सहकारी छानबिन समितिको कार्यादेशमा भएन सहमति

काठमाडौँ : प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रवार बसेको बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको संसद्को अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ।

लामिछानेले जेठ ६ मा संसद्‌मा दिएको अभिव्यक्तिबारे प्रश्न उठाउँदै सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गरेकोमा प्रधानमन्त्रीको जवाफ मागेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए।

लेखकका अनुसार बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा पक्राउ गरिएको विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

सहकारी ठगीका सम्बन्धमा गठन हुने संसदीय समितिको कार्यादेश के हुनेबारे कार्यदलमा सहमति नभएपछि तीन दलको शीर्ष नेताको बैठक बसेको थियो। बैठकमा पनि कार्यादेशबारे सहमति भने भएन।

लेखकले सहकारीबाट ठगी भएको विषयमा छानबिन कस्तो बनाउने भन्ने विषयमा कार्यदलले काम गरिरहेको र शीर्ष नेताबीचको छलफल पनि सकारात्मक भएको बताए।

शुक्रवारको कार्यदलको बैठकमा कांग्रेसले कार्यादेशमा गृहमन्त्री रविको नाम उल्लेख नगरे पनि समिति गठन किन भन्नेमा भने प्रतिपक्षी दलले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे उठाएको प्रश्नमा समिति बनेको लेख्नुपर्ने र रवि कार्यादेशमा रवि जोडिएको सहकारीको नाम उल्लेख गर्नुपर्ने सर्त राखेको थियो।

त्यसपछि आ-आफ्ना दलका नेताहरूसँग छलफल गर्ने भन्दै कार्यदलको बैठक स्थगित भएकोमा शनिवारका लागि सारियो। बालुवाटारमा भएको छलफलमा पनि समितिको कार्यादेशबारे सहमति भने हुन सकेन।

सहमति नभएपछि शनिवार बस्ने कार्यदल बैठकमा आ–आफ्नो प्रस्ताव पेस गर्ने गरी बैठक सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

जेठ ११, २०८१ शुक्रबार १९:५१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।