भारतको छत्तीसगढमा भिडन्त, आठ संदिग्ध माओवादी मारिएको दाबी

भारतको छत्तीसगढमा भिडन्त, आठ संदिग्ध माओवादी मारिएको दाबी

काठमाडौं : माओवादी प्रभावित भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ।

खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

एक उच्च प्रहरी अधिकारीका अनुसार बुधबार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेशन सुरु गरेका थिए। बिहीबार बिहान करिब ११ बजे मुठभेड सुरु भएको थियो।’

बिहीबार दिनभर भिडन्त जारी रहेको र दुवै पक्षबाट बेलाबेलामा गोली हानाहान भएको प्रहरीले जनाएको छ। सो क्रममा प्रहरीले घटनास्थलबाट शंकास्पद सात माओवादीको शव र एउटा अटोमेटिक राइफल बरामद गरेको थियो।

यस अपरेशनमा संलग्न करिब एक हजार सैनिकले सो क्षेत्रलाई चारैतिर घेरेका थिए। शुक्रबार बिहान सुरक्षाकर्मीले अर्का एक संदिग्ध माओवादीको शव फेला पारेको बताए। यसरी मारिनेको संख्या आठ पुगेको छ।

प्रहरीका अनुसार सैनिकहरू भिडन्त भएको ठाउँबाट अझै फर्किएका छैनन्। उनी फर्किएपछि मात्रै पूर्ण विवरण आउनेछ। राज्यका मुख्यमन्त्री विष्णुदेव साईले यो हाम्रा सैनिकहरूको ठूलो सफलता भएको बताएका छन्।

मुख्यमन्त्रीले भने- ‘म सिपाहीहरूको साहसलाई सलाम गर्छु। हाम्रो लक्ष्य नक्सलवादको अन्त्य गर्ने हो।’

विगत केही महिनादेखि छत्तीसगढमा संदिग्ध माओवादीहरू विरुद्ध निरन्तर कारबाही भइरहेको छ। गत महिना अप्रिल २ मा प्रहरीले गङ्गलुर क्षेत्रमा १३ माओवादी मारेको दाबी गरेको थियो।

त्यस्तै, वैशाख १६ गते काङ्केरको कालपरमा भएको भिडन्तमा २९ माओवादी मारिएको प्रहरीले जनाएको छ। नक्सल इतिहासमा छत्तीसगढमा एउटै भिडन्तमा यति ठूलो संख्यामा माओवादी मारिएको थिएन।

प्रहरीले यसअघि ३० अप्रिलमा ताकामेटामा १० माओवादी र यही मे १० मा पेडियामा १२ माओवादी मारेको दाबी गरेको थियो।

जेठ ११, २०८१ शुक्रबार १३:५५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।