प्रहरीलाई प्रधानमन्त्रीले भने- ‘अपराध अनुसन्धान गर्दा कति पनि विचलित नहुनुस्’

प्रहरीलाई प्रधानमन्त्रीले भने- ‘अपराध अनुसन्धान गर्दा कति पनि विचलित नहुनुस्’

ककाठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध अनुसन्धान गर्दा कति पनि विचलित नहुन नेपाल प्रहरीलाई सल्लाह दिएका छन्।

विज्ञान प्रविधिको तीव्र विकाससँगै आएका नयाँ सुरक्षा चुनौतीहरूलाई ध्यान दिँदै अनुसन्धानमा ध्यान दिन उनले प्रहरीलाई सल्लाह दिएका हुन्।

उनले भने, ‘नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति नेपाल प्रहरी प्रतिबद्ध हुनुपर्नेछ।’

प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको चर्चा गरे।

तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको बताउँदै उनले कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्न सुझाव दिए। 

दाहालले नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउनका लागि हरसम्भव राष्ट्रले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्नेमा प्रधानमन्त्रीको जोड दिए।

शान्ति सुव्यवस्था बहाल राख्न ठूलो सङ्ख्यामा जनशक्ति परिचालित हुनुपर्ने प्रहरीको जनशक्ति दक्षता तथा कार्यकुशलताले सङ्गठनको प्रभावकारितालाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै प्रधानमन्त्रीले सङ्गठनको लागि चुस्त र दक्ष जनशक्ति तथा समयानुकूल र व्यावसायिक तालिम अत्यावश्यक हुने उल्लेख गर्दै त्यसको पूर्तिका लागि सरकार प्रतिबद्ध रहेको बताए।

उनले तालिमलाई थप गुणस्तरीय र व्यावहारिक बनाउन तालिमका विषयवस्तु समयानुकूल परिमार्जन गर्नुपर्ने र आधुनिक प्रशिक्षण विधि तथा मापदण्डको अबलम्वन गर्नका लागि काभ्रेको पनौतीमा नयाँ संरचनाहरू निर्माण भइरहेका जानकारी दिए।

जेठ ११, २०८१ शुक्रबार १२:४७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।