छानबिन समितिको कार्यादेश तय गर्ने कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेताहरूसँग छलफल गर्ने

छानबिन समितिको कार्यादेश तय गर्ने कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाडौं : सहकारी ठगी प्रकरणका सन्दर्भमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ।

बिहीबार बसेको बैठकमा दुवै पक्षका सांसदहरू केही लचक भएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए।

‘सहमति भएको छैन,’ उनले भने, ‘अब हामी हाम्रा नेताहरूसँग कुरा गर्छौँ। कांग्रेसले पनि आफ्ना शीर्ष नेताहरूसँग कुरा गरेर बैठकबाट सहमतिमा पुग्छौं।’

यद्यपि कार्यदलका सदस्य जीवन परियारले भने दुवै पक्ष आ–आफ्नो अडानमा कायमै रहेको बताए।

‘सरकार पक्षले रवि लामिछानेको नामै राख्नुहुँदैन भन्ने बटम लाइन छ भने हाम्रो बटम लाइन चाहिँ रवि लामिछानेले हिजो गोरखा मिडिया प्रालिमा रहँदा जुन रकम अपचलन गर्नुभयो भन्नेमा छानबिन नै नगर्ने भए सहमति हुन सक्दैन भनेका छौं।’

आफूहरूले लिखित प्रस्ताव पेश गरेकाले त्यसमा छलफल गर्नुपर्ने भएकाले तत्कालका लागि बैठक स्थगित भएको उनले बताए।

आफूहरू राखेको लिखित प्र्रस्तावमा सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीहरुको बारेमा आवश्यक अध्ययन गरेर के कस्तो अवस्थामा छ, त्यसबारेमा अध्ययन गरेर सुझाव दिने उल्लेख रहेको बताए।

साथै गोरखा मिडिया नेटवर्क लगायतका कम्पनीहरुमा जसरी सहकारीबाट रकम अपलचन भएको छ। त्यसबारेमा पनि अध्ययन गरेर सहकारीका सञ्चालकहरु, गोरखा मिडिया नेटवर्कका सञ्चालक, प्रबन्ध निर्देशक, व्यवस्थापक, लगायतहरूमाथि अध्ययन गरी दोषी देखिए कानून बमोजिम कारबाही गरिनुपर्छ भनेको उनको भनाइ छ।

जेठ ११, २०८१ शुक्रबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।