सदस्य नै नभएको कार्यदलको बैठकमा किन गइरहेका छन् ज्ञानेन्द्र कार्की ?

सदस्य नै नभएको कार्यदलको बैठकमा किन गइरहेका छन् ज्ञानेन्द्र कार्की ?

काठमाडौँ : सहकारीको रकम अपचलनमा संलग्नहरूबारे छानबिन गर्न गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश तोक्न बनेको कार्यदलको सदस्य हैनन् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की।

समितिले के-के विषयमा छानबिन गर्ने भनेर कार्यादेश निश्चित गर्न गठित समितिको संयोजक कानुनमन्त्री पदम गिरी छन् भने सदस्यहरूमा एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य हुन्।

समितिको कार्यादेश तोक्न कार्यदलमा सहमति नभइरहेको बेलामा पछिल्लो समय कार्यदलमै नभएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी भइरहेका छन्।

उनी बिहीबारको बैठकमा पनि सहभागी थिए। शुक्रवार बसिरहेको बैठकमा समेत उनी सहभागी छन्। पार्टीको तर्फबाट परियार सहभागी हुँदाहुँदै कार्यदलमै नभएका कार्कीको इन्ट्रीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सत्तापक्ष गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको नाम कार्यादेशमा राख्न सहमत भए पनि लामिछानेको नाम र गोर्खा मिडिया प्रालीको नाम राख्न सहमत भएका छैनन्।

उता प्रमुख प्रतिपक्षी कांग्रेस भने रवि र गोर्खा मिडिया दुवैको नाम राख्नुपर्ने अडानमा छ। परियारले रविको नाम राख्नुपर्ने अडान लिइरहँदा कार्कीले बैठकमा मध्यमार्गी विकल्पमा सहमति गराउने प्रयास गरिरहेको बैठकबारे जानकारस्रोतले बतायो।

स्रोतका अनुसार सहकारी ठगीबारे संसदीय समिति गठनको मुद्दा पेचिलो बन्दै गएपछि रास्वपाका तर्फबाट केही नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। त्यही भेटको प्रभावका रूपमा कार्की सदस्य नै नभएको कार्यदलमा सहभागी हुन थालेका हुन्।

शुक्रवारको प्रतिनिधि सभा बैठक अगाडि नै कार्यदलमा समितिको कार्यादेश टुङ्ग्याउन सत्तापक्षले पहल गरे पनि व्यक्ति तोकेर समिति बनाउन भने सहमत भएका छैनन्। सहमति नभए दुवै सदनको बैठक चल्न नदिने कांग्रेसको तयारी छ।

जेठ ११, २०८१ शुक्रबार १०:४५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।