आईपीएलको दोस्रो क्वालिफायरमा आज राजस्थान र हैदरावाद भिड्दै

आईपीएलको दोस्रो क्वालिफायरमा आज राजस्थान र हैदरावाद भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।

खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे चेन्नईको चेपकस्थित एम चिदम्बरम स्टेडियममा हुँदैछ।

इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेपछि र पहिलो क्वालिफायरमा कोलकातासँग पराजित भएपछि हैदरावादले दोस्रो क्वालिफायर खेल्न लागेको हो।

लिग चरणमा दुई टिमबीच भएको खेल रोमाञ्चक भएको थियो, जसमा हैदरावादले एक रनले जितेको थियो। दुई टिमबीच अहिलेसम्म खेलिएका १९ खेलमा १० मा हैदरावाद र नौ खेलमा राजस्थान विजयी भएका छन्।

२०१३ मा दुई टिम एक पटक मात्र प्लेअफमा भिडेका थिए, जसमा राजस्थानले जित निकालेको थियो।

हैदरावादले यस सिजनको पावरप्लेमा ११.४८ को रन-रेट र लगभग ४२ को औसतमा रन बनाएको छ। जारी सिजनमा यो नै सबैभन्दा उत्कृष्ट हो।

अर्कोतर्फ राजस्थानले पावर प्लेमा ८.५९ रन रेटमा रन बनाएको छ, जुन यो सिजन पावरप्लेमा कुनै पनि टोलीको तेस्रो सबैभन्दा सुस्त ब्याटिङ औसत हो।

बलिङमा स्थिति बिल्कुल फरक छ। राजस्थानले यो सिजन पावरप्लेमा संयुक्त अधिकतम २४ विकेट लिएको छ र ८.०३ को इकोनोमीमा सबैभन्दा कम रन दिएको छ।

हैदरावादले भने पावरप्लेमा २१ विकेट लिने चौथो नम्बरमा छ, तर उनीहरूले प्रति ओभरमा झण्डै नौ रन पनि दिएका छन्।

जेठ ११, २०८१ शुक्रबार ०९:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।