दुवै पक्ष टसको मस नहुँदा छानबिन समितिको कार्यादेश तय हुन सकेन, आज पनि कार्यदलको बैठक बस्दै

दुवै पक्ष टसको मस नहुँदा छानबिन समितिको कार्यादेश तय हुन सकेन, आज पनि कार्यदलको बैठक बस्दै

काठमाडौं : सहकारीको रकम अपचलन प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको आज पनि बस्दैछ।

बैठक बिहान साढे ८ बजे सिंहदरवारस्थित कानून मन्त्रालयमा बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बिहीबार निष्कर्षविहीन भएको बैठक आजका लागि बोलाइएको हो। आजको बैठक अन्तिम भएको बर्तौलाको भनाइ छ। आज सहमति गर्ने भनिएको छ।

कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको बर्तौलाको भनाइ छ।

कार्यदलका अर्का सदस्य जीवन परियारले बैठकमा कार्यादेश रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा आफूहरूको अडान कायम रहेको बताएका छन्।

आफूहरूले गोलमटोलको भाषाको प्रयोग मान्य नहुने स्पष्ट रुपमा राखेको बताउँदै परियारले सम्बन्धित व्यक्तिको नाम उल्लेख नगरी कांग्रेस सहमतिमा नआउने स्पष्ट गरे।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्। त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की पनि समितिको बैठकमा सहभागी भइरहेका छन्।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्।

जेठ ११, २०८१ शुक्रबार ०७:४१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।