संसदीय छानबिन समितिमा सत्तापक्ष सहकारीको नाम राख्न सहमत, तर रविको नाम उल्लेख गर्न असहमत, प्रतिपक्षले मानेन

संसदीय छानबिन समितिमा सत्तापक्ष सहकारीको नाम राख्न सहमत, तर रविको नाम उल्लेख गर्न असहमत, प्रतिपक्षले मानेन

संसदीय छानबिन समितिमा सत्तापक्ष सहकारीको नाम राख्न सहमत, तर रविको नाम उल्लेख गर्न असहमत, प्रतिपक्षले मानेन

काठमाडौँ : सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनको कार्यक्षेत्र तोक्न बसेको कार्यदलको बैठक निष्कर्षमा पुगेन। बिहीबारको बैठकमा सत्तापक्ष लचिलो बन्दै कार्यक्षेत्रमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको नाम राख्न सहमत भएका थिए।

यस अगाडि सत्तापक्षबाट कार्यदलमा रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर ढकालले रवि जोडिएको सहकारीको नाम तोक्न समेत स्वीकार गरेका थिएनन्।

बिहीबारको बैठकमा उनीहरू पोखराको सुर्यदर्शन सहकारी,बुटवलको सुप्रिम सहकारी लगायत गृहमन्त्री रवि जोडिएका सहकारीको अनुसन्धान गर्ने विषय छानबिन समितिको कार्यादेशमा उल्लेख गर्न सहमत भएका थिए।

नेपाली कांग्रेसका तर्फबाट कार्यदलमा रहेका प्रतिनिधिले कार्यादेशमा गृहमन्त्री लामिछानेकै नाम उल्लेख गर्नुपर्ने अडान लिएपछि बिहीबार सहमति हुन सकेन।

बर्तौलाका अनुसार संसदीय छानबिन समितिको कार्यादेशमा सहकारीको नाम राख्न सहमत भए पनि रवि लामिछानेको नाममा असहमति भएको बताए। उनले सहमतिका लागि शुक्रवार बिहान साढे आठ बजे पुन कार्यदलको बैठक बस्ने बताए। 

कार्यदलमा रहेका कांग्रेस नेता जीवन परियारले सत्ता पक्षले गृहमन्त्री लामिछानेको नाम नराखी छानबिनको दायरालाई अगाडि बढाउन प्रस्ताव गरेको तर सम्बन्धित व्यक्तिको बारेमा छानबिन गर्ने उल्लेख नगरी कांग्रेसले कार्यदलमा सहमति नगर्ने जानकारी दिए। 

गृहमन्त्री रवि लामिछाने राजनीतिमा आउनु अगाडि संलग्न गोर्खा मिडिया प्रालीले अवैध रूपमा विभिन्न सहकारीबाट रकम ल्याएर अपचलन गरेको भन्दै कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग राखेर संसद् अवरुद्ध बनाउँदै आएको छ।

संसदीय छानबिन समिति नबनी संसद् चल्न नदिने अडानमा कांग्रेस कायम रहेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षीमाथि मार्सल लगाएर विश्वासको मत लिएका थिए। कांग्रेस छानबिन समिति नबने बजेट ल्याउन समेत नदिने रणनीतिमा देखिएपछि संसदीय समिति बनाउन सरकार लचिलो बन्दै आएका छन्। तर सहमति भने हुन सकेको छैन।

जेठ १०, २०८१ बिहीबार १८:४२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।