सदनसँगै सडकमा उत्रिँदै कांग्रेस, सहकारी पीडितको पक्षमा जेठ १३ मा प्रदर्शन गर्ने

सदनसँगै सडकमा उत्रिँदै कांग्रेस, सहकारी पीडितको पक्षमा जेठ १३ मा प्रदर्शन गर्ने

काठमाडौँ : सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग सरकारले नसुनेपछि कांग्रेस सडक प्रदर्शनमा उत्रिने भएको छ।

सदनमा निरन्तर माग राख्दा समेत सरकारले चासो नदेखाएपछि सहकारी पीडितको बचत फिर्ता गराउन सडक आन्दोलनको घोषणा गरेको हो।

पार्टी  केन्द्रीय कार्यालय सानेपामा बुधवार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितहरूको पक्षमा उभिने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश शरण महतले बताए।

सहकारी पीडितको बचत फिर्ताको माग र ठगीमा संलग्न रहेकामाथि अनुसन्धान गर्न माग गर्दै जेठ १३ मा प्रदर्शन गर्ने निर्णय गरेको महतले बताए।

बैठकका निर्णय सुनाउँदै महतले भने,‘देशभरि सहकारीका लाखौँ बचतकर्ताहरू पीडित भएका छन्। त्यसलाई गम्भीरताका साथ लिँदै कांग्रेस पीडितको पक्षमा उभिने निर्णय गरेको छ।  उहाँहरूको बचत फिर्ता नभएसम्म र अपचलन गर्नेहरूलाई कानुनी कारबाही नगरेसम्म हामीले सडक र सदनबाट आन्दोलन गर्छौँ।'

उनले उपप्रधान तथा गृहमन्त्रीको गोरखा मिडियामार्फत विभिन्न सहकारीका झन्डै एक अर्ब रुपैयाँ दुरुपयोग भएको र गृहमन्त्री भएकै कारण उनी विरुद्ध सुरक्षा निकायबाट छानबिन हुन नसकेको उनले दाबी गरे।

कांग्रेसले संसद्मा सभामुखले खेलेको भूमिकाप्रति पनि आपत्ति जनाएको छ। प्रधानमन्त्रीले सांसदबाट जबरजस्ती विश्वासको मत लिएको र त्यसमा सभामुखले पनि संसदीय मर्यादाको भूमिका निर्वाह नगरेको कांग्रेसको आरोप छ।

जेठ ९, २०८१ बुधबार १९:४४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।