सात वर्षपछि कहाँबाट आयो प्रधानमन्त्री प्रचण्डको पैतृक जग्गा र सुन ?

सात वर्षपछि कहाँबाट आयो प्रधानमन्त्री प्रचण्डको पैतृक जग्गा र सुन ?

काठमाडौँ : सात वर्षको बिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको १४ कट्ठा जग्गा २५ लाख नगद र दुई तोला सुन बढेको छ। २०७३ मा प्रचण्डले बुझाएको सम्पत्ति विवरणमा जम्मा एक कट्ठा जग्गा र तीन तोला सुन रहेको र ती सबै पैतृक सम्पत्ति रहेको उल्लेख थियो।

मङ्गलवार सार्वजनिक भएको सम्पत्ति विवरणमा एक कट्ठासँगै थप १४ कट्ठा जग्गा अनि पाँच तोला सुन समेत उल्लेख छ। बढेको दुवै सम्पत्तिको स्रोत भने पैतृक उल्लेख छ। २०७३ मा नभएको पैतृक सम्पत्ति २०८० मा कसरी आयो विवरणमा खुलेको छैन।

२०७३ मा सार्वजनिक भएको प्रचण्डको सम्पत्ती विवरण।यस अगाडि तीन तोला मात्र पैतृक सुन रहेकोमा २०८० मा आएर भने पाँच तोला सुन रहेको र त्यसको स्रोत पैतृक रहेको उल्लेख छ। दुवै जग्गा चितवनको भरतपुरमा रहेको र जग्गा प्रचण्डको श्रीमती सीता दाहालको नाममा देखिन्छ। 

प्रचण्डको २०२८० को सम्पत्ती विवरण।

उपप्रधानमन्त्री भन्दा श्रीमती धनी

मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरणअनुसार तीन उपप्रधानमन्त्रीहरुमध्ये सबैभन्दा कम सम्पत्ति नारायणकाजी श्रेष्ठको देखिन्छ।

रवि लामिछाने र रघुवीर महासेठको चल अचल सम्पत्ति आफ्नोभन्दा श्रीमतीको नाउँमा धेरै छ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाममा नेपाल बैङ्क लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैङ्कमा ५ हजार रुपैयाँ नगद बचत देखिन्छ। उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रूपमा देखाइएको छ।

लामिछानेको सो बाहेक अन्य सम्पत्ती उल्लेख छैन तर, उनकी पत्नी निकिता पौडेलको नाममा बुढानीलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ। विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको विवरणमा उल्लेख छ।

उक्त घर किन्दा बैङ्कबाट लिएको २ करोड ५० लाख रुपैयाँ ऋणमध्ये अब १ करोड ५० लाख तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ।

पौडेलसँग ८० तोला सुन र २० केजी चाँदी रहेको खुलाएका छन्। त्यसको स्रोत अधिकांश निकीताका बाबुआमाले दिएको र केही खरिद गरेको उल्लेख छ। यस्तै निकितासँग सुनबाहेक  १५-२० केजी चाँदी रहेको र त्यो २५० देखि ३०० रुपैयाँ प्रति तोला भएको बेला खरिद गरेको उल्लेख सम्पत्ति विवरणमा उल्लेख छ।

निकिताको नाउँमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको र सवारीसाधनमा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ।

सो कार ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा खरिद गरिएको विवरणमा उल्लेख छ। विवरण अनुसार नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक निकटता छिन् भने दुवैको भौतिक मूल्य ४ करोड भएको उल्लेख छ। नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको सम्पत्ति विवरणमा अधिकांश सम्पत्ति श्रीमती जुली महतोको नाउँमा देखिन्छ।

महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको उल्लेख छ भने महतोको नाममा जनकपुरमा ३ कट्ठा जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा छ।

चल सम्पत्ति विवरणमा ४३ तोला सुन, १.५ किलो चाँदी रहेको उल्लेख छ। २ करोड २५ लाख रुपैयाँ बराबर नगद रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ।

यस्तै विभिन्न कम्पनीमा मन्त्री पत्नी जुलीको नाउँमा ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको विवरणमा छ।

सो बाहेक महासेठले परिवारका सदस्य र सगोलमा रहेको जग्गा पनि विवरणमा खुलाएका छन्। रामविलास महासेठको नाउँमा हालको मिथिला विहारी नगरपालिकामा ३३ बिघा,    धनुषाकै सबैला नगरपालिकामा आमाको नाउँमा ३९ बिघा जग्गा रहेको उल्लेख छ। यस्तै सगोलको घर जग्गामा मिथिला बिहारी नगरपालिका–३ मा पनि करिब १० कट्ठा जमिन रहेको विवरणमा खुलाएका छन्। महासेठका अनुसार उनीसँग आफ्नो नाउँमा सवारीसाधन र पशुधन छैन।

अर्का उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको नाउँमा घर र पैतृक सम्पत्ति नभएको विवरणमा छ। राष्ट्रिय वाणिज्य बैङ्कको खातामा १ लाख २२ हजार रुपैयाँ रहेको मन्त्री श्रेष्ठले खुलाएका छन्। सुनचाँदी, शेयर वा धितो पत्र नभएको सम्पत्ति विवरणमा उल्लेख छ।

सम्पत्तिको नाउँमा गोरखाको सिरानचोक गाउँपालिका–८ मा उनको नाममा ३ कित्ता जग्गा छ। सोमध्ये एउटा कित्ता ३१ रोपनी १५ आना छ।  दोस्रो  ५ रोपनी ७ आना र तेस्रो कित्ता १ रोपनी १० आना रहेको देखाइएको छ। त्यसलाई उनले पैतृक भनेका छन् र २०५८ सालमा पार्टीलाई दिएको घोषणा गरेको र हाल प्रक्रियामा रहेको विवरणमा उल्लेख छ।

मन्त्री श्रेष्ठसँग बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी छ। उक्त गाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रयोग गर्न दिएको श्रेष्ठले सम्पत्ति विवरणमा राखेका छन्।  

जेठ ९, २०८१ बुधबार १९:१९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।