देशमा पटकपटक सरकार परिवर्तन भएकोबारे दयाहाङको असन्तुष्टि

देशमा पटकपटक सरकार परिवर्तन भएकोबारे दयाहाङको असन्तुष्टि

काठमाडौं : अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड स्वायत्त नभएसम्म नेपाली चलचित्र क्षेत्रले सोचेअनुरुप विकास गर्न नसक्ने बताएका छन्। बोर्डलाई स्वायत्त बनाउनेगरी छलफल भइरहेपनि राजनीतिक भागबन्डा हुँदा समस्या आउने गरेको उनको भनाइ छ। देशमा निरन्तर सरकार परिवर्तन हुने भएकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यसको प्रभाव चलचित्र क्षेत्रमा समेत पर्ने बताए। 

‘हाम्रोमा के परिपाटी भयो भने जुन मन्त्रालयहरू छन् त्यहाँ पार्टीको भागबन्डा हुने गर्छ। बिच-बीचमा सरकार पनि परिवर्तन भइरहन्छ। बोर्ड र मन्त्रालयबीच निरन्तर समन्वय हुने अवसर नै मिल्दैन। जसका कारण चलचित्र क्षेत्रको विकासमा पर्याप्त काम गर्ने मौका मिल्दैन। यसमा हामी सबै गम्भीर बन्नुपर्छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा दयाहाङले भने।

उनले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा नेपाली फिल्महरूले सहभागिता जनाउँदा कस्तो फाइदा हुन्छ भन्ने कुरा नै सरकारी निकायले चासो नदिएको गुनासो गरे। 

‘पहिलो कुरा त अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा जाँदा के हुन्छ, के उपलब्धि हुन्छ भन्ने कुराहरूको हामीलाई सामान्य ज्ञान पनि छैन। त्यो बुझ्ने प्रयास कतिको भइरहेको छ भन्ने कुरा पनि हामीले हेक्का राख्नुपर्छ,’ उनले भने।

फिल्म किन र केका लागि बनाइन्छ भन्ने कुराको बुझाइमा कमी रहेको जनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको प्रवर्द्धन गर्नुपर्छ भन्ने स्पष्ट नीति सरकारले बनाउनुपर्ने उनको माग छ। उनले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अन्य देशहरूले आफ्नो स्टलहरू राखेर आफ्नो देशको प्रवर्द्धन गरिरहेको आफूले प्रशस्त देखेर आएको पनि सुनाए।

भविष्यमा फिल्ममा अभिनय मात्र गर्ने कि निर्देशक र निर्माताको भूमिका निर्वाह गर्ने भन्नेमा अहिले नै सोच्न नसकेको उनले सुनाए। 

‘भविष्य कतातिर जान्छ अहिले थाहा हुँदैन। मेरो सपना निर्देशक बन्ने नै हो। कुनै समय फिल्म डाइरेक्सन गर्छु भन्ने थियो। तर निर्देशन गर्नु अथवा त्यो जिम्मेवारी लिनको लागि लामो अभ्यास, सोच पहिला आउनुपर्छ। अहिले चाहीं म अभिनयलाई नै निरन्तर रुपमा अगाडि बढाउँछु,’ उनले भने।

‘दास ढुङ्गा’, ‘ताम्रो’ ‘लुट’ जस्ता फिल्मले आफूलाई स्थापित गराएको सुनाउँदै राईले ‘हाइवे’, ‘गाउँ आएको बाटो’ले आफूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गरेको सुनाए। 

उनले नव आगन्तुक कलाकारहरुलाई चर्चित हुन नभइ मेहेनत गर्नका लागि कला क्षेत्रमा प्रवेश गर्न सुझाव दिए। 

जेठ ९, २०८१ बुधबार १९:०९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।