सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै सडक आन्दोलन गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन गर्दै जाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य नैंनसिंह महरले जानकारी दिए। 

उनले भने, ‘शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र जुन जुन जिल्लामा सहकारी पीडितहरुको संख्या बढि छ त्यो जिल्लामा हामीले अनुसन्धान गर्ने र त्यसैअनुसार संघर्षको काम गर्ने छौं।’ 

उनले कांग्रेसको नेतृत्वको पदाधिकारीहरूले जसरी ड्राइभ गरेका छन् त्यसले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन नसकेको टिप्पणी गरे। जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा झन दिनदिनै नाजुक अवस्थामा गइरहेको उनको भनाई छ। 

उनले भने, ‘केपी ओलीको सरकारले संसद विघटन गरेको बेलादेखि नै कांग्रेसको नेतृत्वको आजको बेला पाँच/छ जना पदाधिकारीहरूले नेतृत्व गर्नुभएको छ। उहाँहरूको ड्राइभले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन सकेको छैन। यसका विषयमा समीक्षा हुनुपर्छ। जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा दिन दिनै नाजुक र गलत अवस्थामा लैजाने कुरा राम्रो हुँदैन।’ 

जेठ ९, २०८१ बुधबार १८:४२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।