बहिष्कार गरेको मन्त्रालयकै शपथ लिए एमालेका विनोद शाहले

बहिष्कार गरेको मन्त्रालयकै शपथ लिए एमालेका विनोद शाहले


सुर्खेत : एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्।

वैशाख १८ गते मुख्यमन्त्री कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्दा उनले शपथ ग्रहण बहिष्कार गरेका थिए। उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नदिएको भन्दै शपथ ग्रहण बहिष्कार गरेका थिए।

२२ दिनपछि शाहले बुधवार  सोही मन्त्रालयमा  शपथ लिए। मन्त्रालयको विषयमा शाहले पार्टी केन्द्रको निर्देशन विपरीत मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयको बाँडफाँड गरेको भन्दै असन्तुष्ट जनाएका थिए।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो गुनासो सुनाएका थिए। यही बिचमा मुख्यमन्त्री कँडेलले शाहीलाई दिइएको मन्त्रालयको जिम्मेवारी खोसेर आफैसँग राखेका थिए।

उनै मुख्यमन्त्री कँडेलले शाहलाई पुनः मन्त्री बनाएका हुन्।
कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्री र एक जना राज्यमन्त्रीले वैशाख १८ गते नै पद तथा गोपनीयताको शपथ लिएका थिए। १२ वैशाखमा माओवादीका रणसिंह परियारले बिना विभागीय मन्त्रीमा नियुक्त भएका थिए। 

 

पछि उनलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन्। यस्तै भौतिक पूर्वाधार विकास तथा सहरी विकास राज्यमन्त्री गोमता विक रहेकी छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कँडेल आफैले राखेका छन्। आठ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने सहमति भएको थियो।

जेठ ९, २०८१ बुधबार १६:४९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।