३१ सम्पादकले प्रधानमन्त्रीलाई संयुक्त पत्र बुझाउँदै भने'सिरोहियाको नागरिकताको विषय प्राविधिक'

३१ सम्पादकले  प्रधानमन्त्रीलाई संयुक्त पत्र बुझाउँदै भने'सिरोहियाको नागरिकताको विषय प्राविधिक'

काठमाडौँ : ३१ जना सम्पादकहरूले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकतासँग जोडिएको केही प्राविधिक कुरामा पक्राउ गरिएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र बुझाउँदै कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई  प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएको उल्लेख गरेका छन्।

सिरोहियालाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ नगरेको र मङ्गलवार एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको भन्दै उनीहरूले अब यो विषय अदालतले नै निरूपण गर्ने लेखेका छन्।

नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै उनीहरूले जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी  सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको लेखेका छन्।

रवि लामिछाने पहिलोपटक गृहमन्त्री बन्दा रवि नेपालका नागरिक नभएको र अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार रहेको उनीहरूले लेखेका छन्।

गृहमन्त्री लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आम मानिसले राखेको करिब एक अर्ब रुपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेकाले।उनले मिडियासँग शत्रुवत् व्यवहार गरेको ३१ जना सम्पादकले ठहर गरेका छन्।

'मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसद्मा उभिएर आफूमाथि 'मिडिया ट्रायल' भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्' पत्रमा लेखिएको छ' सत्ता दुरुपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौँ र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईँको जिम्मेवारी रहेको स्मरण गराउँछौँ।'

प्रतीक प्रधान, शिव गाउँले,अमित ढकाल,किरण नेपाल,युवराज घिमिरे, सुधीर शर्मा, मदन लम्साल, विमल गौतम, सागर पण्डित, राजाराम गौतम, सुजित महत, पूर्णबहादुर बस्नेत, वसन्त बस्नेत, हरिबहादुर थापा,उमेश चौहान,रामेश्वर बोहरा,कोषराज कोइराला,गुणराज लुइँटेल,रूपेश श्रेष्ठ,अखण्ड भण्डारी, विश्वास बराल, सरोज मिश्र, अरुण बराल, कमलदेव भट्टराई, प्रकाश रिमाल, कसमस विश्वकर्मा, सञ्जीव सतगैयां, विजय पौडेल, रामप्रसाद दाहाल, दुर्गा खनाल र पुष्प दुलालले पत्र बुझाएका हुन्।

जेठ ९, २०८१ बुधबार १५:४७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।