नागरिकता प्रकरणमा समातिएका सिरोहियाको रिहाइको माग, मिडिया सोसाइटीले निरन्तर विरोध गर्ने घोषणा

नागरिकता प्रकरणमा समातिएका सिरोहियाको रिहाइको माग, मिडिया सोसाइटीले निरन्तर विरोध गर्ने घोषणा

काठमाडौँ :  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुमा गृहमन्त्री रवि लामिछानेको निहित स्वार्थ मुख्य कारण रहेको दाबी गर्दै मिडिया सोसाइटीले उनको रिहाइको माग गरेको छ।

बुधवार सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले पत्रकार सम्मेलन गरेर सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर सङ्घर्ष गर्ने घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो घटनाको जिम्मेवारी लिएर न्यायिक छानबिन गर्नुपर्ने माग गरे।

सिरोहियाको नागरिकतामा कैफियत देखिएको भन्दै धनुषा प्रहरीले उनलाई मङ्गलवार पक्राउ गरेको थियो।

‘प्रधानमन्त्रीज्युले यो सबै घटनाको जिम्मेवारी लिएर तपाईँले जतिसक्दो चाँडो कैलाश सिरोहियालाई रिहा गर्नुहोस्, उहाँमाथिको न्यायिक छानबिन पूरा गर्नुहोस्' उनले भने।

उनले देशमा राजनीतिक प्रणालीमाथि मुठभेडको वातावरण सिर्जना गर्ने उद्देश्यबाट निहित भएर सिरोहियालाई पक्राउ गरिएको दाबी समेत गरे।

‘सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध निरन्तर मिडियाले प्रश्न उठाइरहेपछि त्यसको बदला लिन सबैभन्दा ठुलो मिडियामाथि अट्याक गरेर सबैलाई तर्साउन खोजिएको हो। कैलाश सिरोहियाको गिरफ्तारी केवल नागरिकतामा विवरण फरक परेका कारण गरेको गिरफ्तारी नभएर नेपालको मिडियामाथि गर्न खोजिएको आक्रमण र सेल्फसेन्सरसिपतर्फ धकेल्न खोजेको हो। यो घटना देशको राजनीतिक प्रणालीमाथि मुठभेडको वातावरण सिर्जना गर्ने उद्देश्यबाट निहित छ’ उनले दाबी गरे।

उनले पक्राउ पुर्जी जारी गरेपछि पनि सिरोहियालाई बोलाएर बयान लिन सकिने भन्दै मिडिया हाउमै आएर पक्राउ गर्नु आपत्तिजनक रहेको र उनको  रिहाइ नभएसम्म गिरफ्तारीका विरुद्ध निरन्तर सङ्घर्ष गर्ने बताए।

जेठ ९, २०८१ बुधबार १३:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।