संघीय संसद्को दुवै सदनको बैठक बस्दै, कांग्रेसको अवरोधले अन्योल

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, कांग्रेसको अवरोधले अन्योल

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।

प्रतिनिधि सभाको बैठक विहान ११ बजे डाकिएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयले दुवै सदन बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। तर, बैठक बस्नेबारे भने अन्यौलता नै छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। सहकारीको बचत अपचलन र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी भएको कांग्रेसको दाबी छ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आज राखिएको छ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत छ।

राष्ट्रिय सभाको कार्यसूचीमा उद्योगमन्त्री भण्डारीले अध्यादेश पेश गर्नेदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक २०८० सभामा पेश गर्ने उल्लेख छ।

यसका साथै विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार पहिलो संशोधन २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ।

जेठ ८, २०८१ मंगलबार ०६:५४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।