४५ वर्षदेखि जामे मस्जिदको चिहान कुरिरहेका रियाज

४५ वर्षदेखि जामे मस्जिदको चिहान कुरिरहेका रियाज

स्वयम्भूको पूर्वतिर घुम्दैगर्दै अलि पर दुइवटा कब्रस्थान देखिन्छन्। दुबै चिहान मुस्लिम समुदायकै हो। तै पनि आ-आफ्नै समूह छन्। तीनै मध्येको एक हो, तकिया गल्लीको कब्रस्थान (चिहान)।

त्यहीँ कब्रस्थान वरपर डुलिरहेका भेटिन्छन्, रियाज अहम्मद मिया। दारी-जुँगा सेतै फुलेका उनी गोलो टोपीमा सेतै कपडा लगाइरहेको अवस्थामा भेटिए।  ६० वर्षको उमेरमै परदादा (जीजु बुवा) भएका उनले सानै उमेरमा जुन संघर्ष गर्नुपर्यो ती सबैलाई सम्झनामा राखेर अहिले अनुहारभरि सन्तुष्टि फिँजाइ रहेका छन्।

उनी जहाँ काम गरिरहेका छन् त्यसको इतिहास तीन सय वर्षभन्दा बढी रहेको देखिन्छ। उनी यो चिहानसँग जोडिएको २०३६ सालदेखि रहेछ। उनको जिम्मेवारी हो चिहान क्षेत्रको सरसफाइ, सुरक्षा र  शव ल्याएको बेला त्यसलाई गाड्नको लागि खाल्डो खन्ने र पुर्ने।

'इमानदरीताले काम गरिरहेको छ। काम देखेर साहुलाई चित्त बुझ्छ। इमान्दार भएर काम नगरेको भए त साहुले  निकालिसक्थे होला ,’ कब्रस्थानमा बसेर गफ गर्दै उनले सुनाए।

'निष्क्रिय शरीर सबैको मासुम हुन्छ’
अहिलेसम्ममा ४५ शव गाडेको उनले निष्क्रिय मानव शरीरलाई नजिकबाट नियालेका छन्। उनको बुझाइमा सबै मान्छे उस्तै रहेछन्। 

'मैले त मान्छेको शरीर एउटै देख्छु। निष्क्रिय शरीर सबैको मासुम (निर्दोष) हुन्छ,’ उनले भने, 'हाम्रो धर्ममा फेरि शवको साथमा नुनदेखि सुनसम्म केही राख्न मिल्दैन। सिर्फ शव मात्र राख्ने हो। शव राखेपछि माथि काठको फलेक, त्यसमाथि फेरि सुकुल राख्ने। अनि मात्र मिट्टी राख्ने हो। भित्र सबै खुल्ला हुन्छ।’

मौलानाले पढ्दै काजक्रियाको काम अगाडि बढाउँछन्। मिठाइ बाढ्छन् अनि फेरि कुरान पढ्छन्। महिलाहरू मलामीमा सरिक भएर कब्रस्थानसम्म जान पाए पनि खाल्डो नजिक गएर माटो भने हाल्न पाउँदैनन्। 

'महिलाले परबाट बिदाइ गर्ने हो। अनि हामी शवलाई उत्तर दिशामा शिर राखेर पश्चिममा मुख फर्केर राख्नुपर्छ। हाम्रो धर्मको कानूनमै हो त्यो त,’ उनले शव गाडेको ठाउँ देखाउँदै सुनाए।

शवमा माटो हाल्नु अगाडि र हालि सकेपछि सबै मलामीहरूले यहीको धारामा हात गोडा धोएर जान्छन्। कसैले त्यसमा फूल, बिरुवा रोपेरसमेत जान्छन्। उनका अनुसार मुस्लिम धर्म अनुसार मरेको दिन घरमा चुल्हो नबाल्नु बाहेक अरु खासै केही बार्नुपर्दैन। अनि परिवारले मृत्यु भएको तेस्रो दिन, चालीस दिन र हरेक वर्ष एकपटक सबैलाई भोज खुवाउनु पर्छ।

मानव शरीरलाई माटोमा गल्नको लागि कम्तीमा बीस वर्ष लाग्ने रियाजले अनुमान गरेका रहेछन्। सिमेन्टले बनाएको ठाउँमा बाहेक अन्य ठाउँमा भने बीसौं वर्षपछि फेरि नयाँ शव गाड्न मिल्ने उनी बताउँछन्।

‘सिमेन्टले बनाएपछि खन्न मिल्दैन। हाम्रो गुरुहरूको शवलाई त्यहाँ राख्ने हो,’ उनले सुनाउँदै गए, ’सिमेन्ट नराखेको ठाउँमा त पानीले गर्दा मिट्टी गल्छ। झारहरू पनि गल्छ। कंकाल गल्न अलि समय लाग्ने हो। पछि त सब मिट्टी मात्र हुन्छ। खन्दाखेरि एक/दुइटा ठाउँमा कंकाल देखेको पनि छु। त्यसबेला फेरि पढ्दै त्यहाँ मिट्टी राख्नु पर्छ। खनिसक्यो भनेर त्यसमै अर्को गाड्न मिल्दैन।’

१३ वर्षमा काठमाडौँ आए, १४ वर्षमा बिहे
बारा जिल्लाको जीतपुरमा जन्मिएका रियाजले आफ्नो बाल्यकालमा रम्नै पाएनन्। सानैमा बाबुआमा बितेपछि उनी एक्लो भए। अनि केही साथीहरूसँग मिलेर १३ वर्षमै काठमाडौँ आए। उनले काठमाडौँमा धेरै काम पाउने सुनेका रहेछन्। यहाँ आए लगत्तै उनले क्षत्रपाटीमा आफ्नै समुदायका व्यक्तिहरू देखे। सबैले ज्यामी काम गर्थे। एकदिन उनी पनि ज्यामी बन्छु भनेर साहुसँग काम माग्न पुगे।

स्कुलको मुखसमेत देख्न नपाएका उनलाई अब कमाउनु पर्छ भन्ने बाहेक अरु केही पनि दिमागमा आएको थिएन। साहुले ज्यामीमा राखेसँगै जोशिएर काम गर्न थाले। त्यसभन्दा अगाडि उनले यस्तोखाले काम गरेका थिएनन्। 

’साहुलाई मेरो काम पसन्द लाग्यो अनि  नोकरी पनि दिन्छु भने। साहु चैं यही कब्रस्थानको अध्यक्ष रहेछन्, त्यसबेला। अनि मलाई यसको रेखदेख गर्न राखे। मेरो इमानदारिताले अहिलेसम्म साहुले उत्ति नै विश्वास गर्छन्,’ उनले खुसी हुँदै भने।

यहाँको रेखदेख गरेको तलब पाएसँगै शव गाड्दाखेरि खनेको अलग्गै पैसा पाउने भएपछि उनले नाइँ पनि भनेनन्। त्यसमाथि बस्नको लागि पनि साहुले व्यवस्था गरिदिएका थिए। उनले सुरुमा यसको रेखदेख गरेबापत चार सय रुपैयाँ तलब पाउँथे।

यस कब्रस्थानलाई कास्मिरी जामे मस्जिद पनि भनिन्छ। नाम कास्मिरी भएपनि कास्मिरसँग यसको कुनै पनि सम्बन्ध छैन। सबै यहीँका ६५ घर मुस्लिम समुदायका व्यक्तिहरूको लागि यो प्रयोग हुन्छ। अनि योसँगै टाँसिएको कब्रस्थान भने नेपाली जामे मस्जिदसँग सम्बन्धित भएको कारण पाटन देखिका मुस्लिमहरुका शव यहाँ आइपुग्छन्। भक्तपुरको लागि भने भक्तपुरमै छ। 

यहाँ आएकै अर्को वर्ष उनले मामाको छोरीसँग बिहे पनि गरे। बिहे हुँदा उनी १४ वर्षका थिए अनि उनकी श्रीमती जम्मा १२ वर्षकी मात्र थिइन्। श्रीमान श्रीमती नै मिलेर यस कब्रस्थानको रेखदेख गर्न थाले। १८ वर्षको हुँदा त उनी बुवासमेत बने।

अहिले उनका छ जना सन्तान छन्। उनले सबै जनालाई मदरसामै पढाए। अनि बिहे पनि गरिदिए। गाउँको जग्गा सबै बेचेर उनले यही कब्रस्थान नजिकै घर पनि किने। अहिले सपरिवार यहीँ बस्छन्। सबै छोराछोरी हुर्किसकेको भएर पनि आफ्नो जिम्मेवारी केही हदसम्म कम भएको उनले महसुस गरेका छन्।

बाराको गर्मीमा बसेका उनले काठमाडौँ पहिलोपटक आउँदा निकै चिसो लागेको अहिलेसम्म बिर्सेका छैनन्।

‘त्यो बेलामा धेरै ठण्डा थियो। सबै सामान पनि सस्तो थियो। यहाँ त स्याल आउँथ्यो। अहिले त बाँदरले धेरै सताउँछ,’ उनले भने,’ त्यसबेला जवानी थियो, हट्टाकट्टा थियो। राम्रो काम गरेँ। अहिले त दुब्लो भयो। छोराको सहयोग लिन परेको छ।’

कोरोनाको समयमा दुइटा सम्म शव गाडेका उनले बाँकी समय भने वर्षमा एउटा शव गाडेका रहेछन्।

'अब खुसी भएर अल्लाहको शबर (धैर्यगर्ने'
यहाँको रेखदेख गर्ने बाहेक उनी खाना बनाउने कामसमेत गर्छन्। विभिन्न मस्जिदमा उनी कुकको सहयोगी भएर जाने गर्छन्। इद र रमजानमा त उनलाई भ्याईनभ्याई हुन्छ। तर खाना बनाउनको लागि काठमाडौँ उपत्यका भन्दा टाढा चैं जाँदैनन्। 

‘साहुले जान दिदैनन्। तिमी गयो अनि शव आयो भने कसले हेर्छ भन्छन्,’ उनले हाँस्दै भने।

उनी नमाज पढ्न पनि जान्दैनन्। सुनेको भरमा उनले सबै याद गरेका छन्। दिनमा पाँच पटक उनी नमाज भनेर अल्लाहलाई सम्झिन्छन्। कब्रस्थानको रेखदेख गर्नुपर्ने काम छ, अझ त त्यहीँ टाँसिएको छ। तर, पनि उनलाई डर भने लाग्दैन। सुरुसुरुमा चैं के होला, भुत पो आउने हो कि भन्ने डर लागेको रहेछ। तर अहिले ४५ वर्ष भइसक्दा समेत त्यस्तो केही डर लाग्ने आभास नभएको उनी बताउँछन्।

‘मैले हेरेको(देखेको) भए विश्वास गर्थे होला। हेरेको छैन के विश्वास गर्नु,’ उनी हाँस्दै भन्छन्,’ त्यसमाथि यहाँ त कब्रस्थानको पर्खालसँग जोडिएर धेरै हिन्दुहरुले घर पनि बनाएका छन्। उनीहरुले पनि अहिलेसम्म त्यस्तो डराएको, तर्साएको भनेका छैनन्।’

जिन्दगीको अधिकांश समय यहाँ बिताएका उनले अन्त जाने सोचेका छैनन्। अरु काम गर्नको लागि ढंग छैन नभएको उनी बताउँछन्। त्यही भएर जबसम्म शरीरले साथ दिन्छ, यही साहुकोमा, यही कब्रस्थानको रक्षा गरेर बस्ने सोच बनाएका छन्।

‘अब त बुढो भयो। केही नगर्ने। अलिअलि घर बहाल आउँछ। आफ्नो तलब आउँछ। छोराहरू पनि कमाउँछ। अब यत्तिकैमा शबर गरेर बस्छु। खुसी भएर अल्लाहको शबर गर्ने बस्ने,’ उनले मुस्कुराउँदै भने।

जेठ ७, २०८१ सोमबार २२:४३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।