एटीएफ यु–१२ च्याम्पियनसिपको पहिलो दिन नेपालको ब्वाइज र गल्र्स दुवै टोली पराजित
काठमाडौं : नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ।
पहिलो दिन नेपालको ब्वाइज/गल्र्स दुवै टोली पराजित भएका छन्। ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्यो। ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा पाकिस्तानले भुटानलाई समान ३–० ले हराए। गल्र्समा बंगलादेशले नेपाललाई २–० तथा श्रीलंकाले माल्दिभ्सलाई ३–० ले पाखा लगाए।
ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटान गरी ७ राष्ट्र सहभागी छन्। गल्र्समा पाकिस्तान र भुटान बाहेक ५ राष्ट्रको सहभागिता छ।
नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गरिरहेका छन्। गल्र्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसी सहभागी छन्। नेपालमा यो प्रतियोगिता चौथो पटक आयोजना गरिएको नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्।
ब्वाइज/गल्र्स दुवैमा फाइनल पुग्ने २ राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट हुने छन्।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरिन्। प्रतियोगिता शुक्रबारसम्म चल्ने छ।
जेठ ७, २०८१ सोमबार २१:१०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।