गृहमन्त्रीलाई कांग्रेसको चुनौती : आरोप प्रमाणित गर्न सक्नुभएन भने त्यसको परिमाण ब्यहोर्नुपर्ला !

गृहमन्त्रीलाई कांग्रेसको चुनौती : आरोप प्रमाणित गर्न सक्नुभएन भने त्यसको परिमाण ब्यहोर्नुपर्ला !

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरूमाथि लगाएको आरोपमाथि छानबिन गर्न चुनौती दिएको छ। 

सोमबार बसेको संसदीय दलको बैठकले त्यसबारे छानबिन गरी प्रमाणित गर्न चुनौती दिइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

'उहाँ (रवि लामिछाने)ले हिजो जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ- तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस्। सरकारको यो काम हो, प्रश्न सोध्ने काम होइन,' लेखकले भने।

आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम पनि गृहमन्त्रीले नै भोग्नुपर्ने कांग्रेसले चेतावनी दिएको छ।

'तपाईंले जुन गम्भीर लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, ब्यहोर्नुपर्ला,' उनले भने।

गृहमन्त्री लामिछानेले हिजोको प्रतिनिधिसभा बैठकमा कांग्रेस नेतामाथि अनेकन् आरोप लगाएका थिए। उनले सभापति शेरबहादुर देउवाप्रति वाइडबडी प्रकरण, देउवापत्नी आरजु राणाप्रति नक्कली भुटानी शरणार्थी प्रकरण, उपसभापति धनराज गुरुङप्रति नक्कली पासपोर्ट, महामन्त्री गगन थापाप्रति बाख्रा व्यवसायमा अनियमितता गरेको जस्ता आरोप लागेका थिए।  

त्यस्तै, बैठकले संसद्लाई ब्यारेक जस्तो बनाएर प्रधानमन्त्रीले विश्वासको मत लिनु खेदजनक भएको निष्कर्ष निकालेको छ। संसद्को सोमबारको बैठकमा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको कांग्रसको ठहर छ। 

'कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न', लेखकले भने।

जेठ ७, २०८१ सोमबार १५:४२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।