संसदमा सभामुख : नाराबाजी गरिरहेका कांग्रेस सांसदलाई गन्दै गनेनन्, विपक्षीको आवाजै 'म्युट' गरिदिए

संसदमा सभामुख : नाराबाजी गरिरहेका कांग्रेस सांसदलाई गन्दै गनेनन्, विपक्षीको आवाजै 'म्युट' गरिदिए

काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस सांसदहरूको नाराबाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए। उनी १६ महिनाको अवधिमा चौथोपटक विश्वासको मत लिने प्रधानमन्त्री बने। गत पौष १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधि सभाको झन्डै सतप्रतिशत मत पाएका थिए। चौथोपटकसम्म आइपुग्दा प्रचण्डको विश्वासको मत प्रतिनिधि सभाको ५७ प्रतिशतमा खुम्चियो। 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज पनि संसद अवरुद्ध गर्यो। ११ बजे बोलाइएको संसद बैठकको सुरुआतमै अवरोध हुँदा अवरोधको विषयमा औपचारिक संवादसमेत नगरेका सभामुख देवराज घिमिरेले बोल्नका लागि समय दिएनन्। त्यसपछि झन् उग्र भएको कांग्रेसले संसद घेराउ गरिरह्यो। 

पहिलो बैठकमा वेल घेराउसहित नाराबाजी भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुखले प्रतिपक्षसँग वार्ता नै नगरी दोस्रो बैठक बोलाएर सुरुमै प्रधानमन्त्रीलाई रोष्ट्रममा पठाएका थिए। मार्शल लगाएर प्रतिपक्षलाई एकतर्फ राखेर प्रधानमन्त्री रोष्ट्रममा उभिदै प्रतिपक्षलाई 'इतिहासको कलङ्क' भन्दै चेतावनी नै दिए।

प्रधानमन्त्रीले सम्बोधन गरिसकेपछि सभामुखले विपक्षीलाई पेलेर लाने रणनीति बनाए। नभन्दै त्यसपछि विश्वासको मत दिने प्रक्रिया सुरू भयो। त्यसबीचमा कांग्रेस सांसदहरू नाराबाजी गरिरहेकै थिए।  तर, उनीहरूको नाराबाजी नसुनियोस् भनेर सभामुखले माइकको आवाजै 'म्युट' गरिदिए। त्यसपछि नाराबाजी गरिरहेका कांग्रेस सांसदहरूको नाराबाजी सुनिएन।

आजको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेको विपक्षी पेल्ने क्रम यत्तिमै रोकिएन। विश्वासको मतको प्रक्रिया अघि बढेपछि सभामुख घिमिरेले मत परिमाण घोषणा गरे। तर, त्यहाँ नाराबाजी गरिरहेका कांग्रेस सांसदहरूलाई गणना सम्म गरेनन्। जबकी, प्रतिपक्ष नभएको अवस्थामा सदनको काम कारबाही चल्न नसक्ने संसदीय अभ्यासको मान्यता छ। तर, उपस्थित भएर नाराबाजी र अवरोध गरिरहेका प्रमुख प्रतिपक्षसहितका प्रतिपक्षीलाई गणनाबाटै हटाएर प्रधानमन्त्री प्रचण्डले पाएको विश्वासको मतको परिणाम घोषणा गरे। 

'माननीय सदस्यहरू आजको मतदानमा उपस्थित माननीय सदस्यहरूको संख्या १५८ रहेको छ,' सभामुख घिमिरेले परिणाम घोषणा गर्दै भने, 'प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा १५७ मत र हुन्न भन्ने पक्षमा शून्य मत र प्रस्तावमा मत दिन्नँ भन्ने पक्षमा जम्मा एक मत रहेको छ।' 

यसैबीच, संसद बैठक सकिएपछि कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपासहितको विपक्षी मोर्चाले बैठकले सभामुख घिमिरे अमुक पार्टीको कार्यकर्ताको रूपमा प्रस्तुत भएको निष्कर्ष निकालेको छ।  

जेठ ७, २०८१ सोमबार १४:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।