विपक्षीको नाराबाजीकाबीच प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

विपक्षीको नाराबाजीकाबीच प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
आफैँलाई विश्वासको मतदिँदै प्रधानमन्त्री प्रचण्ड।

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलको अवरोधकाबीच विश्वासको मत पाएका छन्। सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समिति गठनको माग राख्दै नेपाली कांग्रेसका सांसदहरूले बेल घेराउ गरिरहेकै बेलामा सभामुख देवराज घिमिरेले विश्वासको मत माग्ने कार्यसूचीसँगै मत विभाजन गराउँदै मत परिणाम सार्वजनिक गरे।

घिमिरेले सार्वजनिक गरेको परिणाम अनुसार सोमबारको संसद् बैठकमा १ सय ५८ जना सांसदहरू उपस्थित भएकोमा प्रधानमन्त्रीमाथि विश्वास छ भन्ने पक्षमा १ सय ५७ मत परेको थियो। प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलका सांसदहरू नाराबाजीमा रहँदै मत विभाजनमा सहभागी भएनन्। त्यसैले उनको विपक्षमा कुनै मत परेन।

मत दिन्न भन्नेमा एक मात्र परेकाले प्रधानमन्त्रीका रूपमा प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन्। विश्वासको मतको प्रस्तावको परिणाम सार्वजनिक गरे लगत्तै सभामुख घिमिरेले कार्यसूचीमा रहेका सबै विषय स्थगित गरेर जेठ ८ सम्मका लागि संसद्को बैठक स्थगित गरेर हिँडे।

जेठ ७, २०८१ सोमबार १३:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।