कांग्रेसको अवरोधबीच प्रधानमन्त्रीले राखे विश्वासको मतको प्रस्ताव

कांग्रेसको अवरोधबीच प्रधानमन्त्रीले राखे विश्वासको मतको प्रस्ताव

काठमाडौं : कांग्रेस सांसदहरूको अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले नाराबाजी गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावसँगै सम्बोधन गरेका हुन्।

उनले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने भन्दै सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए।

उनले भने, ‘अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ। पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो। राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो। त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो। तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्डलगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ।’

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै उनले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

‘सुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु। सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु। तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु।’

नीति तथा कार्यक्रम पेश गरिसक्नुभएको र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालीन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने उनको भनाइ छ।

‘सार्वभौम संसदको लामो समय लिन चाहन्न। यत्ति भन्छु, प्रधानमन्त्रीका रूपमा मैले संसदको पहिलो सम्बोधनमै प्रतिबद्धता जनाएको थिएँ म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु।’

सोह्रौं आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोगविना पूरा हुन नसक्ने बताए।

जेठ ७, २०८१ सोमबार १२:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।