भवितव्यले बदलेको जेनिशाको गन्तव्य

भवितव्यले बदलेको जेनिशाको गन्तव्य

२०७० कात्तिक १६ गते। कैलालीको गौरिगंगा नगरपालिकामा तिहारको किनमेल गर्न १६ वर्षीया जेनिशा कडायत आफ्नो साइकल कुदाएर हुइँकिइन्। छोराहरू प्राय बजार जाने गरेकोमा त्यसबेला भने बुवाले उनलाई साथमा लगे। नजिकिँदै गरेको एसएलसी तयारी छोडेर उनी बजार जान उत्साहित हुँदै निस्किहालिन्।

बुवा छोरीले मिलेर बजारमा चिनी, टायर, ट्युब लगायतका सामान किने। खाजा खाएर फर्किने भन्दाभन्दै छोरी कतिखेर साइकल लिएर कुदिन् पत्तै पाएनन् उनका बाले। उनी चन्दनचोक पुगेपछि अचानक पहाड जत्रो सिसौको रुख खस्यो। ‘बा’ भनेर चिच्याउन नपाई उनको आवाज बस्यो। अगाडि अँध्यारो छायो।

अहिले उनी रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययन गर्दैछिन्। बसाइ काठमाडौंको जोरपाटीमा छ। जोरपाटीदेखि प्रदर्शनीमार्गको यात्रा सहज छैन। तर, उनले हार मानेकी छैनन्। तर अहिले पनि उनलाई त्यो दिन एउटा खराब सपना जस्तै लाग्छ। त्यसरी नै साइकलमा सहजै हुइँकिन सक्छु भन्ने लाग्छ। तर, जब आफ्नै शरीर चल्मलाउन मान्दैन अनि चाल पाउँछिन्, त्यो सपना थिएन अब यथार्थ हो।

०००

पुरानै दिनमा फर्किउँ। उनी चिच्याइन, कराइन्। आँखा अगाडि अँध्यारो भयो। उनी गहिरो निन्द्रामा पुगिन्। जब उनको होस् आयो आफूलाई अस्पतालको बेडमा फेला पारिन्। निधार, टाउको सबैतिर टाँका लगाएको, उनको कति राम्रो कपाल थियो, ती पनि खुइल्याएछन्। हात भाँचिएको अनि पूरै शरीर कपडाले बाँधेर राखेको।

‘फर्किँदा चैँ बाबाले धेरै पटक बोलाइरहनु भएको थियो रे। खाजा खाएको छैन, खाजा खाएर जाऊँ भन्नुभएको थियो रे। म बजार जान पाएको भएर खुसी हुँदै खाजा नखाने, छिट्टो आउनु भनेर गएँ,’ त्यसबेलाको क्षण सम्झँदै जेनिशाले सुनाइन्, ‘म निकै अगाडि पुगिसकेको रहेछु। बाबाको एक शब्द पनि सुनिनँ। चोकमा पुग्दा त्यहाँको एकजना चौधरी अंकलले रुख काट्नुभएको रहेछ। बाँसमा अल्झ्यो भनेर झार्ने बेला म रुख तल परेछु।’

तीन जना दाइपछि जन्मिएकी उनी र उनको बहिनी जुम्ल्याहा हुन्। दाइहरूसँग हुर्कँदै गर्दा कामले छोरी भन्ने आभाष भइराखे पनि कहिले पनि आफूलाई उनीहरू भन्दा कमजोर ठानिनन्। 

सुदूरपश्चिममा अहिले पनि प्राय छोरी, बुहारी घरको काममै सीमित हुन्छन्। त्यसबेला जेनिशा पनि भाउजुसँग घरको काममै सीमित हुन्थिन्। त्यही भएर बाहिर निस्किने मौका पाए उनी निकै खुसी हुन्थिन्। त्यो दिन पनि त्यहि भएको थियो।

तर, त्यो दुर्घटनापछि उनको जीवन सधैँको लागि बदलियो। दुर्घटनास्थलमा पैदलयात्रीहरूले साइकल कच्याककुचुक भएको देखे। उनको बुवा त्यहाँ आइपुग्दा छोरी नै देखेनन्। क्षणभरमै रुखमुनिबाट रगत बगेको देख्दा आत्तिएर उनी आफैँ बेहोस भए।

पैदलयात्रीले रुख हटाएर जेनिशालाई त्यहाँबाट निकालेर खटियामा राखे। नजिकैको ताल र सडक पूरै रगतले लतपतियो। स्थानीयले तुरुन्तै एम्बुलेन्स बोलाए अनि उनलाई धनगढीको सेती अस्पताल लगियो।

कलिलो हड्डी आफैँ जोडिन्छ भन्ने भ्रम
निधारमा दशवटा टाँका लगाएको, हात पनि भाँचिएको। टाउकोमा धेरै चोट लागेको भनेर सेती अस्पतालका चिकित्सकले अन्त लैजानु भने। उनीहरूले भेरी अस्पताल ल्याए।

त्यहाँ ‘अब धेरै खर्च नगरे हुन्छ, यो बाँच्यो भने बढीमा पाँच मिनेट’ भनेछन्। उनको काकाले जेनिशाको बुवासँग त्यही भने। उनका दुईटा दाइ विदेशमा थिए। ‘डाक्टरले जे भने पनि जसरी पनि उपचार गर्ने’ भनेर उनलाई तुरुन्त काठमाडौं ल्याइयो। 

उनको होस् खुलेको अस्पताल काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल थियो। त्यहाँ उनको टाउकोमा १४ वटा टाँका लगाइयो। भाँचिएका भागमा प्लास्टर गरियो। उनी बिस्तारै होसमा आइन्। उता गाउँमा भने बाँच्दैन अब भन्ने हल्ला फैलिएर शव कुरिरहेका थिए।

‘मेरो याद आउँछ भनेर ममीले त मेरो लुगा, किताब सबै बाँडिसक्नु भएको रहेछ,’ उनले विगत सम्झिइन्, ‘म बाँच्छु भन्ने आश नै मारिसक्नुभएको रैछ। गाउँमा कुनै एम्बुलेन्स आयो कि ऊ जेनिशालाई ल्यायो भन्थे रे।’

उनको मिल्ने साथी, उनको दुर्घटना भएको भोलिपल्ट जन्डिस भएर भेरी अस्पतालामा भर्ना भएकी रहिछन्। ती मिल्ने साथीको त्यहिबेला मृत्यु भएछ। 

यता जेनिशा होसमा आए लगत्तै त्यही मिल्ने साथी खोजिन्। भर्खर होस आएको उनलाई भाउजुले केही पनि भनिनन्। तर, ढिपी गरेपछि भन्न करै लाग्यो। खबर सुनेपवछि उनी पुनः बेहोस् भइन्।

शिक्षण अस्पतालमा टाँका लगाउने बाहेक अन्य केही भएन। हड्डी कलिलै भएकाले आफैँ जोडिन्छ भनेर डाक्टरले उनलाई बाँधेर राखेका रहेछन्।

त्यसबेला उनलाई भोक लाग्थ्यो। तर, डाक्टरले जुस र पानी मात्र दिनु भनेका रहेछन्। हात र खुट्टा सबैको हड्डी त्यत्तिकै जोडिन्छ भनेर बाँधेर राखेकाले उनलाई असाध्यै दुख्यो।

कम्मरमा पनि टाइट गरेर बाँधेको थियो। त्यसले गर्दा ढाडमा त प्वाल नै भएको थियो। शरीरमा जताततै घाउ भयो। त्यतिबेला जिउँदै तड्पाएर मार्न लागेको जस्तो महसुस भएको सुनाउँछिन् उनी। 

उनले झगडै गरिन्। अनि बल्ल उनको केही पट्टिहरू उघारियो। उनलाई काभ्रेमा रहेको ‘रिह्याब’मा थेरापीको लागि लगियो।

त्यो बेलासम्म उनले त्यो दुर्घटनापछि आफूलाई के-के भयो भन्ने चालै पाएकी थिइनन्। टाँका लगाएको र पट्टी बाँधेको आधारमा घाउ भएछ अनि कतै हड्डी पनि भाँचिएछ भन्ने मात्र लागेको रहेछ।

जब उनलाई काभ्रे पुर्याइयो अनि बल्ल थाहा पाइन्, त्यो दुर्घटनामा त उनको स्पाइनल कर्डमै क्षति पुगिसकेको रहेछ। उनी अब सहज रूपमा हिँडडुल गर्न नसक्ने भइसकेकी थिइन्।

तर, चिकित्कसले हड्डी कलिलो भएकाले विस्तारै जोडिन्छ अनि हिँड्न सकिन्छ भनेका थिए उनलाई। तर, उनी कहिल्यै खुट्टा टेकेर हिँड्न सकिनन्।

थेरापी सेन्टरमा उनी जस्तै समस्या भएकाहरू पनि थिए, त्यही उनको भेट भयो गायत्री दाहालसँग। दुवैले आ-आफ्ना व्यथा बाँडे। त्यही थेरापी सेन्टरमा पुगेपछि नै उनले पेटभरी खाना खान पाइन्।

थेरापीमा दुई हप्ता जति बस्दा आफ्नो शरीरमा पूरै प्वाल नै प्वाल भएको देखिन्। ढाडको हड्डी सम्बन्धि उपचार भएकाले काठमाडौंको जोरपाटी अनि किष्टमा उपचार हुन सक्ने थाहा पाइन् उनले। कात्तिकमा दुर्घटना भए पनि मंसिर २२ गते मात्र उनको शल्यक्रिया भयो।

स्टीलको मेरुदण्ड !
चोट त धेरै थियो। तर, पहिला ढाडको उपचार भएको भए हिँड्न सक्थेँ कि भन्ने लागेको रहेछ उनलाई। पहिला चिकित्सकले हिँड्नसक्छ पनि भनेका थिए। उनी हिँड्न सकिहाल्छु भनेर ढुक्क थिइन्।

उनको अप्रेशन भयो। जब उनी होसमा आइन्, उनले पहिलो पटक आफ्नो खुट्टा उठाउन खोजिन्, तर उठेन। कहिल्यै उठाउन नसक्ने भइसकेको रहेछ। उनको कम्मर र ढाड जोड्ने हड्डी सब काटकुट गरेर त्यसको सट्टा दुइटा ठाडो र चार वटा तेर्सो स्टील उनको मेरुदण्ड बनेको रहेछ।

उनको ढाडमा रोबोर्टको जस्तो स्टिल नै स्टिल मात्र छ। लगभग दुई लाख रुपैयाँको त स्टिल मात्र ढाडमा राखियो। उनमा प्रयोग भएको स्टील उनको मृत्युपछि दान गर्न मिल्ने खालको रहेछ। अप्रेशनपछि पनि उनलाई थेरापीको लागि काभ्रेमा लगियो।

‘सुरु-सुरुमा त कर्याङ-कर्याङ बजेको आवाज नै आउँथ्यो। दाउरा बाँधेर राखेको जस्तो हुन्थ्यो,’ हाँस्दै उनले भनिन्, ‘अहिले त शरीरको मासुमा जोडिएको भएर हो कि आवाज आउँदैन। तर गर्मीको बेलामा धेरै गर्मी र जाडोको बेलामा धेरै चिसो हुन्छ। प्राय रुघा लागिरहन्छ।’

उपचारको अवधिभर उनीसँग भाउजु र बहिनी मात्र थिए। उनको बुवाआमा सबै गाउँमै। थेरापी गरेपछि हिँड्न सकिन्छ कि भन्ने आश थियो उनमा। तर, माघमा आएर उनले अब आफू कहिले पनि हिँड्न नसक्नेमा प्रष्ट भइन्। अनि बेस्सरी रोइन्। त्यसपछि उनी कहिल्यै पनि रोइनन्।

चार महिनापछि उनी घर फर्किइन्। शव आउने त्रासमा थियो परिवार र गाउँ। तर, शव हैन उनी ज्युँदै घर फर्किइन्। घरमा विद्यालयको साथीदेखि मास्टर र गाउँभरीको मान्छे उनलाई हेर्न हुल बाँधेर आएका थिए। तर, कसैले पनि उनलाई सान्त्वना दिएनन्। उनी प्रति माया जताएनन्। त्यो दृश्य झल्झली याद आउँछ उनलाई।

‘जति मान्छे आए सबैले बाउआमाको पासो, बोझ, किन बाँचेको होला, यसरी बाँचेको भन्दा मर्नु आनन्द हुन्थ्यो भने,’ उनले एक सुरले भनिन्, ‘खाना खाँदा समेत एक ठाउँमा बसेर नखाने घुमी-घुमी खानुपर्ने मान्छे म, त्यसरी एक ठाउँमै बस्नुपर्यो। हलो जोत्न बाहेक सबै काम गर्न आउँथ्यो मलाई। २४ घण्टा एउटा कुनामा बस्न पर्दा अर्कै मान्छे भएको महसुस भयो।’

असफल आत्महत्याले दिएको नयाँ जीवन
‘यस्तो भएर त किन बाँच्नु, बरु मर्नु आनन्द’ भनेको शब्दहरू फनफनी घुम्न थाल्यो उनको दिमागमा। हरेकको मुखबाट एउटै कुरा सुन्दा-सुन्दा उनलाई पनि आफू ‘बोझ’ नै भएको लाग्न थाल्यो। शारीरिक रूपमा त उनी कमजोर भइन् नै, हौसलाको अभावमा उनको मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्न थाल्यो।

‘म बोझै हुँ, म बाँच्नुको काम छैन’ भनेर उनले दुई पटक त आत्महत्याको प्रयास नै गरिन्। आत्महत्याको असफल प्रयासकै बेला उनलाई काभ्रेको थेरापी सेन्टरमा भेटिएकी गायत्री दिदीको फोन आयो। बल्ल उनले मनको पीडा पोख्ने व्यक्ति फेला पारिन्। सबै बह पोखिन्।

मन हल्का गर्न नयाँ कपी झिकेर आफ्नो मनमा लागेको सबै कुरा लेखिन् पनि। तर, आफैँले पढ्दा रिस उठ्थ्यो। अनि च्यातचुत गरेर फालिन्। ‘यस्तो भएर किन बाँचेको होला, बरु मर्नु आनन्द’ भन्ने शब्दले घोच्दा-घोच्दा उनलाई गाउँमा बस्न मनै लागेन। तर जाने कहाँ?

उनको सम्पर्क नेपाल महिला विश्वासी संघमा रहेकाहरूसँग भयो। उनी गाउँ छाड्ने विकल्पको खोजीमा थिइन्। उनी जस्ता शारीरिक रूपमा अशक्त भएकाहरू बस्न काठमाडौंको जोरपाटीमा अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र छ भन्ने थाहा पाइन्। अनि उनी यतै आइपुगिन्।

जब उनी केन्द्रमा आइपुगिन्, आफूजस्तै धेरै साथीहरू देखिन्। उनमा विस्तारै बाँच्नुपर्छ भन्ने हौसला बढ्न थाल्यो। दुर्घटनाले उनको पढाइ बिचैमा रोकिएको थियो। यता आएपछि उनले पढाइलाई निरन्तरता दिइन्। अहिले उनी रत्नराज्य क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दैछिन्। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा रिसेप्सनिष्टको रूपमा कार्यरत छिन्।

०००
केन्द्रमा बस्दाबस्दै उनको मन खेलकुदतिर पनि तानियो। बास्केट बल खेलिन्। उनलाई स्विमिङ गर्न खुब रमाइलो लाग्थ्यो। स्विमिङ पनि गर्न थालिन्। रहर पूरा गर्दा-गर्दै उनी राष्ट्रिय स्तरको खेलाडी बनिसकिन्। बास्केटबल र पौडीमा उनी अहिले राष्ट्रियस्तरको खेलाडी हुन्। पारा खेलकुदमा उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकिन्।

जेनिशाले पौडीमा केही समयअघि चीनमा भएको एसिएन खेल समेत खेलिन्। अब सिंगापुरमा हुन लागेको एसियन खेलकै लागि उनी तयारीमा जुटेकी छन्। यसमा जित हासिल गरिन् भने उनले अर्को वर्ष हुने ओलम्पिक खेलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

‘अब मेरो टार्गेट भनेकै ओलम्पिकमा खेल्नु हो। स्टीलले गर्दा चिसो लागिहाल्ने मलाई पौडी खेल्दा पनि निकै अफ्ट्यारो त हुने नै गर्छ। तर, यहाँसम्म आएर ओलम्पिक नखेल्ने भन्ने त कुरै हुँदैन’, आत्मविश्वासका साथ उनले सुनाइन्।

गाउँमा बुवा आमा खेती किसानीमा छन्। दाइहरू छुट्टिसके। बहिनीको विवाह भैसक्यो। खेलबाटै आर्थिक रूपमा सबल हुन सकिन्छ भन्ने उनलाई लागेको छैन। त्यसैले उनी ओलम्पिक खेलसँगै लोकसेवाको तयारीमा पनि जुटेकी छन्।

‘जसरी पनि ओलम्पिक चैँ खेल्छु अनि आफूलाई कुनै सरकारी तहमा देख्ने इच्छा छ’, उनले खुसी हुँदै भनिन्।

९ जेठ, २०८१, १६:१०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।