आर्सनललाई धक्का, म्यानचेस्टर सिटीलाई आठौंपटक ईपीएलको उपाधि

आर्सनललाई धक्का, म्यानचेस्टर सिटीलाई आठौंपटक ईपीएलको उपाधि

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।

प्रिमियर लिगको १३६ वर्षको इतिहासमा सिटीले लगातार चौथो सिजन उपाधि जित्दै नयाँ कीर्तिमान पनि बनाएको छ।

यो सिजनको अन्तिम खेलमा सिटीले वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। सिटीले समग्रमा आठौं पटक प्रिमियर लिगको उपाधि जितेको हो।

सिटी ९१ अंकका साथ पहिलो र आर्सनल ८९ अंकसहित दोस्रो स्थानमा छ। सिटीले उपाधि रक्षा गर्ने जित दिलाउनमा फिल फोडेन दुई तथा रोड्रीले एक गोल गरेका थिए। वेस्टह्यामका मोहमद कुडुसले एक गोल फर्काए।

सिटीले घरेलु इथिहाड स्टेडियममा दोस्रो मिनेटमै अग्रता लिएको थियो। सिटीका लागि बर्नान्डो सिल्भाको पासमा फिल फोडेनले गोल गर्दै अग्रता दिलाएका हुन्।

१८औं मिनेटमा फोडेनले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए। उनले जेर्मी डोकुको पासमा गोल गरेका थिए। ४२औं मिनेटमा मोहमद कुडुसले गोल गरेपछि वेस्टह्यामले अग्रता २-१मा झारेको थियो।

तर, ५९ औं मिनेटमा सिल्भाको पासमा रोड्रीले गोल गरेपछि सिटी ३-१ ले अघि बढेको थियो। ८९औं मिनेटमा थोमस सुसेकले वेस्टह्यामका लागि गरेको गोल भीएआरले मान्यता नदिँदा वेस्टह्यामलाई खेलमा फर्किन कठिन भयो।

त्यसपछि ३-१ को नतिजाका साथ सिटीले स्पष्ट ३ अंक लिएपछि उपाधि पनि जित्न सफल भयो। आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ।

आर्सनललाई उपाधि जित्नका लागि सिटी पराजित वा बराबरीले मात्रै सम्भव थियो। तर, सिटीले स्पष्ट जित निकालेपछि आर्सनलको २१ वर्षपछि उपाधि जित्ने सपनामा धक्का पुग्यो। गत सिजन पनि आर्सनल दोस्रो स्थानमा रहेको थियो।

जेठ ७, २०८१ सोमबार ०९:३७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।