कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल हुने

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बिहान ९ बजे बस्दैछ।

सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो।

बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्दैछन्।

कांग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए।

कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधनमाथि समेत छलफल हुने बताइएको छ। अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकले निर्णय लिने कांग्रेस नेताहरूले बताएका छन्।

आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन्। संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिवारै सैद्धान्तिक सहमति भइसकेको छ।

तर, आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन। कांग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ।

आइतबारको सम्बोधनमा गृहमन्त्री लामिछानेले आफू निर्दोष रहेको मात्रै दाबी नगरेर धम्कीपूर्ण भाषामा कांग्रेस नेताहरूमाथि लाञ्छना लगाएका कारण संसद्मा कांग्रेस अब झन् कडा रूपमा प्रस्तुत हुन सक्ने आंकलन समेत भइरहेको छ।

जेठ ७, २०८१ सोमबार ०७:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।