टीओआरमा सहमति नहुँदा प्रतिनिधि सभा बैठक अनिश्चित

टीओआरमा सहमति नहुँदा प्रतिनिधि सभा बैठक अनिश्चित

काठमाडौं : ११ बजेको लागि बोलाइएको आजको प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन। संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो।

सहकारी ठगी प्रकरणको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ।  कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहने गरी समिति गठन गरिएको छ। 

उक्त कार्यदलको बैठक चलिरहँदा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा मिसिएका छन्। त्यसपछि छलफलमा सहमति हुन समय लागिरहेको छ।  

त्यसअघि, संसद चल्नुअघि विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा बोलाइएको विपक्षी दलका नेताहरूको संयुक्त बैठकका कारण संसद प्रभावित बनेको हो। उक्त बैठकले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरिसकेको छ। 

विपक्षी दलहरूको बैठकपछि सभामुख देवराज घिमिरेलाई भेट्दै राप्रपाका ज्ञानेन्द्र शाहीले टीओआरमा सहमति भएपछिमात्र बैठक सञ्चालन गर्न आग्रह गरेका थिए। 

जेठ ६, २०८१ आइतबार १२:२८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।