संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने प्रतिपक्षी दलहरूको निर्णय

संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने प्रतिपक्षी दलहरूको निर्णय

काठमाडौं : प्रतिपक्षी दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए। 

'उनले बोलेपछि चित्त बुझे बुझिहाल्यो, नबुझेको खण्डमा छानबिन समिति बन्नुपर्ने भन्ने हाम्रो अनिवार्य सर्त नै हो', शाहीले भने। 

गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित बनाइने बैठकले निर्णय गरेको छ। 

विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरूको संयुक्त बैठक बोलाएका थिए।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। राप्रपाका नेताहरूले समेत आफूहरूको आन्दोलनमा बल प्रयोग गरेको भन्दै त्यस दिनदेखि नै गृहमन्त्रीको राजीनामा माग्दै आएका छन्। 

गत बिहीबारको संसद बैठकमा प्रतिपक्षका अन्य दलहरूले समेत उभिएर विरोध जनाएका थिए। त्यस दिनको  बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू काङ्ग्रेससहित राप्रपा, लोसपा, जसपा नेपाल एकठाउँमा उभिएका थिए। उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। 

जेठ ६, २०८१ आइतबार १२:०१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।