रुपन्देहीको स्वास्थ्य क्षेत्रमा मौलाउँदै बेथिति, पर्याप्त अनुगमन नहुँदा नक्कली डाक्टरले अपरेशन गरिदिन्छन् !

रुपन्देहीको स्वास्थ्य क्षेत्रमा मौलाउँदै बेथिति, पर्याप्त अनुगमन नहुँदा नक्कली डाक्टरले अपरेशन गरिदिन्छन् !

बुटवल : पछिल्लो समय रुपन्देही जिल्ला स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास भइरहेको छ। सँगैमा, स्वास्थ्य क्षेत्रमै देखिएको बेथितिले चिन्ता थपेको छ। औद्योगिक, व्यापारिक, शैक्षिक हवको पहिचान बनाएको रुपन्देही केही बर्ष यता स्वास्थ्यको हवको रुपमासमेत परिचित छ।

स्तरीय अस्पताल, विशेषज्ञ चिकित्सकसहितको सेवाले रुपन्देहीलाई स्वास्थ्यको हवको रुपमा परिचित बनाएको हो। तर, यहाँ पछिल्लो समय एक पछि अर्को बेथिति मौलाएको छ।

अघिल्लो हप्ता मात्र बुटवलको कालिकापथमा रहेको बैदवार फार्मेसीलाई शील गरिएको थियो। सो फार्मेसीका सञ्चालक कमल विकले लागूऔषध बिक्री वितरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

फार्मेसीबाट औषधि दिँदा डाक्टरको प्रेप्पकिप्सन विना लागूऔषध समेत मिलाएर औषधि दिएको सूचनापछि प्रहरी बैदवार फार्मेसीमा छापा मार्न पुगेको थियो। त्यसको अघिल्लो हप्तामात्र सिद्धार्थनगर नगरपालिकाले पनि भैरहवा क्षेत्रका फार्मेसीहरूमा अनुगमन गरेको थियो। उपप्रमुख उमा अधिकारी नेतृत्वको टोलीले दर्ता नवीकरणबिनै संचालनमा रहेको सराफ अस्पताल शील गरेको थियो। 

गत बुधबार मात्रै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले आफूलाई चिकित्सक हुँ भन्दै विरामीको शल्यक्रिया गर्ने गरेको आरोपमा नक्कली चिकित्सक भारतीय एक नागरिकलाई पक्राउ गरेको थियो। रुपन्देहीको मर्चवारी गाउँपालिका–३, सेमरहवास्थित नेपाल–भारत सीमा क्षेत्रमा संचालित नैना हेल्थ क्लिनिकमा बसेर आफूलाई चिकित्सक भन्दै धमाधम स्थानीयको शल्यक्रिया गर्दै आएका भारतीय नागरिक नागेन्द्र मिश्रालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

स्थानीय पूर्णकुमारी बरईको नाममा कर कार्यालयमा प्यान नम्बर दर्ता रहे पनि अन्य कुनै निकायमा दर्ताबिनै संचालनमा रहेको उक्त क्लिनिकमा आफूलाई बीफर्मा पढेको बताउने भारतीय नागरिक मिश्राले विरामीको शल्यक्रिया गर्ने गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

यी त केवल पछिल्लो एक हप्तामा गरिएका अप्रेशनका कैफियत मात्र हुन।

अझ अनुगमन प्रभावकारी बनाउने हो भने बुटवल, भैरहवासहितका धेरै बजारमा दर्ता विना नै फार्मेसी सञ्चालन भएका मात्र छैनन्, फार्मेसी अध्ययन गरेकाहरूले नै विरामी जाँच गर्ने गरेका भेटिन्छन्। तर, अनुगमन नहुँदा स्वास्थ्य क्षेत्रमा भएको बेथिति त्यति धेरै सतहमा आएको छैन। 

विरामीलाई अनावश्यक औषधिको भार थुपारिदिने, आवश्यकताका आधारमा नभई कमिसन आउने भएकै कारण बढि भन्दा बढि ल्याब टेस्ट गराउने, ल्याब टेस्ट गर्दा मूल्य मनपरी असुल्ने गुनासा स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढि छन्। तर, यहाँ यसबारे सरोकारवालाहरूले भने त्यति चासो दिएका छैनन्।

उपचारका क्रममा विरामीलाई गलत औषधिको प्रयोग, अप्रेशनमा चिकित्सकको लापरबाही जस्ता घटनाले पनि रुपन्देहीको स्वास्थ्य क्षेत्र पछिल्लो समय बदनाम भइरहेको छ। कतिपय घटनामा चिकित्सककै लापरबाहीले हुने विरामीको मृत्युले पनि टिप्पणी हुने गर्दछ। समयमै चिकित्सक अस्पतालमा नआउनु, गलत औषधिको प्रयोगले विरामीको अकालमा मृत्यु हुने घटना पनि बेला बेला सार्वजनिक हुने गरेका छन्।

गत मंसिर १३ गते सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका थिए। दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका थिए।

चिकित्सककै लापरबाहीले हुने घटना कति त सतहीमै आउँदैनन्। विरामीका आफन्तलाई घटना बाहिर नल्याउन त्यही ‘आर्थिक मोलमलाई’ गरिन्छ। घर–घरमा मापदण्ड विपरीत खोलिएका अस्पतालमा पूर्वाधारको अवस्था कस्तो छ भन्नेबारे समेत अनुगमन भएको छैन।

मुख्य बजार क्षेत्रमा मात्र होइन, सीमावर्ती बजारमा झन ठुलो बेथिति स्वास्थ्य क्षेत्रमा देखिएको छ। सीमा क्षेत्रमा भारतीय नागरिकले फार्मेसी, क्लिनिक खोल्ने र शल्यक्रियाजस्ता अवैधानिक कार्य हुने गरेका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मुख्य बजार वा सीमावर्ती बजारमा हुने अवैध कामको सूचना आउनसाथ अनुगमन गर्ने बताए। 

‘स्वास्थ्य क्षेत्रलाई बदनाम नहोस् भनेरै अहिले केही बेथिति विरुद्ध अपरेशन चलाइएको हो। क्रमशः यसमा सुधार आउनेछ। यदि कसैले पनि अवैध ढंगले काम गरिरहेको छ भने उ कानुनको दायरमा आउँछ’ उनले भने।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गोरव ढकालले पनि अवैध ढंगले कानुन विपरीत काम गर्नेलाई कारबाही जारी राखिएको बताए।

अहिले पनि कतिपय ठाउँमा चिकित्सक नै नभएको व्यक्तिले विरामी जाँच गर्ने गरेको, सरकारले प्रतिबन्धित गरेका औषधि फार्मेसीबाट बिक्री-वितरण गरेको जस्ता गुनासो आएको भन्दै सबैलाई कानुनी दायरमा ल्याउने उनको भनाई छ।

जेठ ६, २०८१ आइतबार १०:२९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।