ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, अन्तिम ओभरमा छ रन ल्याउन नसक्दा सुदूरपश्चिम दुई रनले पराजित
काठमाडौं : अन्तिम ओभरमा छ रन ल्याउन नसक्दा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला टी२० क्रिकेटको उपाधि चुम्न चुकेको छ।
१५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रनमा मात्रै जोड्न सक्यो।
जितका लागि सुदूरपश्चिमलाई अन्तिम ओभरमा छ रन चाहिएको थियो। क्रिजमा सेट ब्याटरहरू कविता जोशी र लक्ष्मी साउद थिए। एपीएफले रेखा रावललाई बलिङमा ल्यायो।
अन्तिम ओभरको पहिलो बल डट राखेकी रावलले दोस्रो बलमा एक रन दिइन्। अब सुदूरपश्चिमलाई चार बलमा ५ रन चाहिएको थियो।
रावलको तेस्रो बलमा लक्ष्मीले एक रन पनि बनाउन सकिनन्। चौथो बल पनि डट खेलेकी उनले पाचौं बलमा एक रन लिएर स्ट्राइक कविता जोशीलाई दिइन्।
कविता स्ट्राइकमा आइन्। जितका लागि एक बलमा चार रन आवश्यक थियो। रावलको बलमा कविताले हानेको सर्टले बाउन्ड्री छुन सकेन। उनीहरूले दौडेर एक रन मात्र लिन सके।
योसँगै पुनः एकपटक सशस्त्र प्रहरी बलको एपीएफ क्लबले २ रनले विजयी हुँदै ललितपुर मेयर्स कपको उपाधि उचालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५५ रन बनायो।
उसका लागि सीता रानामगर र राजमती ऐरीले क्रमशः ७४ र ५० रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक इन्दु बर्मा ९ र रोमा थापा ६ रनमा आउट हुँदा ममत चौधरी १० रन बनाएर अविजित रहिन्।
सुदूरपश्चिमका लागि रितु कनोजिया, राधिका पुजारा र विन्दु रावलले समान एक–एक विकेट लिए।
जवाफी लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमकी कविता जोशीले अविजित रहँदै ६७ रनको अर्धशतकीय पारी खेलिन्।
लक्ष्मी साउद २९ रनमा नटआउट रहँदा विन्दु रावल १९, सावित्री धामी १२, सम्झना खड्का १०ले १० रन बनाए। रुबि पोद्दार ५ रनमा आउट हुँदा रितु कनोजिया एक बल पनि नखेली रनआउट भइन्।
एपीएफका करुणा भण्डारीले दुई तथा सुमन विष्टले एक विकेट लिइन्।
सिंगल राउन्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगितामा एपीएफ र सुदूरपश्चिमसँगै ललितपुर मेयर्स ११, कोशी र बागमती प्रदेश सहभागी थिए। शीर्ष दुई टिमबीच आज फाइनल भएको हो।
जेठ ५, २०८१ शनिबार १३:३७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।