चुरोटमा ३३ प्रतिशत मात्रै कर लाग्छ भनेर भ्रम फैलाइएको पेय पदार्थ तथा चुरोट उद्योग संघको दाबी

चुरोटमा ३३ प्रतिशत मात्रै कर लाग्छ भनेर भ्रम फैलाइएको पेय पदार्थ तथा चुरोट उद्योग संघको दाबी

काठमाडौं : नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा ३३ प्रतिशत मात्र कर लगाइको भन्ने सूचना भ्रामक रहेको दाबी गरेको छ।

शुक्रबार एक विज्ञप्ति निकालेर संघले राष्ट्रिय दैनिकमा प्रकाशित भइरहेको ‘चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोट प्रति सरकार किन उदार?’ व्यहोराका विज्ञापन भ्रामक रहेको दाबी गरेको हो।

नेपाल सरकारको कूल राजस्वमा सूर्तिजन्य उद्योगको चार प्रतिशतभन्दा बढी योगदान रहेको भन्दै सरकारको राजस्व नितिमा प्रभाव पार्ने उद्देश्यले नियोजित रूपमा भइरहेको प्रचारको भ्रममा नपर्न संघले आग्रह गरेको हो।

नेपालमा बिक्री हुने विभिन्न लम्बाइका चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, अन्तःशुल्क स्टिकर शुल्क, मूल्य अभिवृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका करहरू संकलन गरिने उल्लेख गर्दै संघले चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको जनाएको छ।

संघका उपाध्यक्ष नवल किशोर चौधरीद्वारा जारी विज्ञप्तिमा तथ्यहिन एवं भ्रामक सूचनाबाट नीति निर्मातालाई प्रभावित पार्न खोज्नु भनेको उद्योगहरूले पुर्याएको योगदानलाई नजरन्दाज गर्नु मात्र नभएर स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवं गैर कानूनी वस्तुहरूलाई प्रोत्साहन गर्नु र निहीत स्वार्थका लागि राज्यलाई गुमराहमा राख्नु भएको ठहर गरिएको छ।

संघले सरकारले मिथ्याङ्कका आधारमा नभएर वास्तविक तथ्याङ्क कै आधारमा नीति निर्माण गर्ने र यस्ता मिथ्याङ्कबाट प्रभावित नहुनेमा आफूहरू विश्वस्त रहेको संघको भनाइ छ।

जेठ ५, २०८१ शनिबार १२:०४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।