प्रधानमन्त्रीले दाहालले चौथो पटक सोमबार विश्वासको मत लिँदै
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (७ जेठ) मा विश्वासको मत लिने तयारी गरेका छन्।
जेठ १ मा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
सोही अनुसार दाहालले सोमबार विश्वासको मत लिन सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विस्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ।
२०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथोपटक हो। उनलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ।
जेठ ४, २०८१ शुक्रबार ०९:२३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।