'सभामुख एमालेको निर्देशनमा चल्नुभयो, तलबाट नेताहरूले भनेपछि बैठक अगाडि बढाउनुभयो'

'सभामुख एमालेको निर्देशनमा चल्नुभयो, तलबाट नेताहरूले भनेपछि बैठक अगाडि बढाउनुभयो'

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूबीच धकेलाधकेल भएपछि यसको जिम्मेवार सत्तापक्ष हुनुपर्ने बताएको छ। बैठकमा सभामुख देवराज घिमिरेले पार्टीको निर्देशनमा अघि बढेको कांग्रेसको आरोप छ। 

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभामुखले संसदीय इतिहासमै नभएको अनौठो कार्य गरेको बताए।

उनले भने, ‘तलबाट नेताहरूले अगाडि बढा भन्ने माथि सभामुखले अगाडि बढाउने, विपक्षी दल वेलमा निस्किएको छ, अन्य दलका नेताहरू पनि आफ्नो सिटबाट उठिरहेका छन्। त्यसका बाबजुद उहाँले सभा सञ्चालन गर्न थाल्नुभयो त्यो चाहिँ हाम्रो संसदीय इतिहासमा अनौठो कुरा हो। यो संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेको सभामुखले पार्टी नेतृत्वको निर्देशनमा पुग्नु दुर्भाग्यपूर्ण हो।’

सभामुखले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बाटो खुलाउँदै गृहमन्त्रीलाई रोष्ट्रम पठाउन खोजेका थिए। त्यही क्रममा कांग्रेसका उपसभापति धनराज गुरुङसँग भनाभनको स्थिति सिर्जित भएको थियो। 

तर, प्रवक्ता महतले भने कांग्रेसले कसैलाई दुर्व्यवहार नगरेको दाबी गरे।  

उनले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बन्नुपर्ने पनि बताए। 

जेठ ३, २०८१ बिहीबार १९:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।