गृहमन्त्रीलाई बाटो खुलाउन ओली जुरुक्कै उठेपछि धनराजसँग भनाभन, सत्ता र प्रतिपक्षबीच झण्डै हात हालाहाल !

गृहमन्त्रीलाई बाटो खुलाउन ओली जुरुक्कै उठेपछि धनराजसँग भनाभन, सत्ता र प्रतिपक्षबीच झण्डै हात हालाहाल !

काठमाडौं : प्रमुख प्रतिपक्षको वेल घेराउ र नाराबाजी चलिरहेकै बेलामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र वाचन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि तनाव उत्पन्न भएर आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखले जनाएका छन्।

गृहमन्त्रीलाई बोल्न समय दिएको घोषणा हुनेबित्तिकै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले उनलाई रोक्न बाटो छेकेका थिए। अग्रस्थानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जुरुक्क उठेर ‘गृहमन्त्रीलाई बाटो छोडिदिन’ नारा लगाइरहेका सांसदलाई आग्रह गर्दैथिए। तर, उनीहरुले बाटो नछाड्ने अडान लिँदै नाराबाजी गरि नै रहे। 

त्यहीबीच कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ र एमाले अध्यक्ष ओलीबीच भनाभन जस्तो अवस्था आयो र एमालेका अरू सांसदहरू पनि अगाडि आएर ओलीको प्रतिरक्षा गरेर उनलाई घेरेर उभिए। धकेलाधकेलको अवस्था उत्पन्न भएपछि सभामुखले गृहमन्त्रीलाई आशणग्रहण गर्न निर्देशन दिँदै आजको कार्यसूचीका सबै बिषय हटाएको सूचित गर्दै बैठक स्थगित भएको घोषणा गरेर उठेर कार्यकक्षतिर गए। 

त्यसपछि भनाभनको शैलीमा संवाद गरिरहेका सांसदहरू एकअर्कालाई थामथुम पार्दै हात मिलाउन थाले। त्यसअघि कांग्रेस सांसदको नाराबाजीपछि सत्ता पक्षका नेताहरु प्रतिवादमा उत्रिएपछि झण्डै हात हालाहालको स्थितिसमेत सिर्जना भएको थियो। 

बिहान बस्ने कार्यसूची भएको बैठक अपरान्ह ४ बजेलाई सरेको भए पनि ५ बज्नै लाग्दा मात्र सुरू भएको थियो। 

पत्र पढ्दै गरेका सभामुखले नाराबाजीबीच केहीबेर कुनै पनि शब्द उच्चारण नगरी आसनमा बसिरहे। केहीबेरको मौनतापछि फेरि अर्को पत्र पढ्न थाल्दै भने, ‘माननीय सदस्यहरू, म अब अर्को पत्र पढेर सुनाउँछु र बुझिनेगरी पढेर सुनाउँछु।’

सभामुखको यो शैलीले विपक्षी सांसदहरूलाई अझ उत्तेजित हुन प्रेरित गरिरहेको देखिन्थ्यो। गृहमन्त्रीलाई बोल्न समय दिएको घोषणा गरिरहँदा पनि सभामुखको अभिव्यक्ति सन्तुलित नभएको प्रष्ट आभास भएको थियो। 

सहकारीको वचत अवैध अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएकोमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरोध गर्दै आएको छ। आज अपरान्हको बैठक यही विषयले निकै तनावपूर्ण भयो। 

जेठ ३, २०८१ बिहीबार १९:०४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।