संसदमा कांग्रेसको नाराबाजी चलिरह्यो : ओलीको इसारामा​​​​​​​ सभामुखले गृहमन्त्रीलाई रोष्ट्रम बोलाए

संसदमा कांग्रेसको नाराबाजी चलिरह्यो : ओलीको इसारामा​​​​​​​ सभामुखले गृहमन्त्रीलाई रोष्ट्रम बोलाए

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्यो। बैठक सुरू हुनसाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेको हो। 

प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजीका कारण सभामुख देवराज घिमिरेले बैठक सहज बनाउन सकेनन्। उनले पटकपटक कांग्रेस सांसदलाई आशणग्रहण गर्न अनुरोध गरे। तर, कांग्रेस सांसदले टेरेनन्। 

उनीहरूले 'संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितलाई न्याय दे, संसदीय मर्यादा कायम गर, सहकारी ठगलाई कारबाही गर' लगायतका नारा लगाउँदै वेल घेराउ गरे। 

तर पनि सभामुख घिमिरेले उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै संसद अगाडि बढाउन खोजे। राष्ट्रपतिको कार्यालयबाट आएको पत्रसमेत वाचन गरे। 

त्यसपछि प्रतिपक्षको नाराबाजी चलिरदै सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए। त्यसपछि कांग्रेस सांसदहरू झन उग्र भएर नाराबाजी गर्न थाले। तर, फेरी अर्कोपटक सभामुखले गृहमन्त्रीलाई रोष्ट्रम बोलाए। 

नभन्दै गृहमन्त्री लामिछाने पनि रोष्ट्रम जान खोजे। उनलाई उनको दलका सांसदले बाटो 'क्लिएर' गर्दै रोष्ट्रम लैजान खोजे। यही बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीलाई रोष्ट्रम पठाउन खोजेको देखिन्छ। 

ओलीले गृहमन्त्रीलाई रोष्ट्रम जान सहजीकरण गरिरहे। तर, प्रतिपक्ष सांसदले दिएनन्। ओलीले तलबाट सभामुखलाई  इसारा गरिरहेका थिए भने सभामुखले पनि सोही इसारा अनुसार गृहमन्त्रीलाई पटकपटक रोष्ट्रम बोलाए। तर, उनी रोष्ट्रममा पुग्नै पाएनन् ।

कांग्रेस सांसदको नाराबाजीपछि सत्ता पक्षका नेताहरु प्रतिवादमा उत्रिएपछि झण्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो। 
 
त्यसपछि कांग्रेस सांसदहरू झन उग्र भएर नाराबाजी गर्न थालेपछि सभामुखले बैठक स्थगित गरेका छन्। सभामुख घिमिरेले बैठक शुक्रबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए। 

जेठ ३, २०८१ बिहीबार १८:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।