मन्त्रिपरिषद् निर्णय : दुई सहसचिव सचिवमा बढुवा, शर्मा र खड्का अध्यक्षमा नियुक्त

मन्त्रिपरिषद् निर्णय : दुई सहसचिव सचिवमा बढुवा, शर्मा र खड्का अध्यक्षमा नियुक्त

काठमाडौं : सरकारले दुई जना सह-सचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकनाथ पौड्याल र राजेन्द्र प्रसाद मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

‘नेपाल प्रशासन सेवा अन्तर्गत राजपत्राकिंत विशेष श्रेणीको पदमा लोकनाथ पौड्याललाई बढुवा गर्ने निर्णय भएको छ। नेपाल कृषि वन सेवा समूह अन्तर्गतको राजपत्राकिंत विशेष श्रेणीको पदमा राजेन्द्र प्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय भएको छ,’ उनले भनिन्।

यस्तै, उनले प्राध्यापक डा.लेखनाथ शर्मा र संगिता खड्का काफ्लेलाई दुई निकायको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको बताइन्। 

उनले भनिन्, ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राध्यापक डा.लेखनाथ शर्मालाई नियुक्ति गर्ने, न्यूनतम् पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगिता खड्का काफ्लेलाई नियुक्ति गर्ने निर्णय भएको छ।’

यसको साथै अर्थ मन्त्रालयको तर्फबाट जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनको लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्विकार गर्ने निर्णय पनि भएको छ।  

जेठ ३, २०८१ बिहीबार १६:४४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।