बारबरा खोजमुलक पत्रकारिता पुरस्कार चार पत्रकारलाई

बारबरा खोजमुलक पत्रकारिता पुरस्कार चार पत्रकारलाई

काठमाडौं : बारबरा फाउन्डेसनले प्रत्येक २ वर्षको अन्तरमा प्रदान गर्दै आएको यस वर्षको बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कार-२०२४ पत्रकारद्वय देवेन्द्र भट्टराई र मात्रिका दाहाललाई प्रदान गरिएको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणको खोजी गरेर समाचार सम्प्रेषण गरेका कान्तिपुरकर्मी पत्रकारद्वय भट्टराई र दाहाललाई प्रथम पुरस्कार प्रदान गरिएको फाउन्डेसनले जनाएको छ। प्रथम हुनेलाई पुरस्कारस्वरूप १५ लाख नगद प्रदान गरिएको हो। 

फाउन्डेसनका अनुसार चौधरी समूहद्वारा बाँसबारी जग्गा घोटाला प्रकरणको समाचार सम्प्रेषण गरेकी उकालोकर्मी पत्रकार दीपा दाहाललाई दोस्रो पुरस्कार प्रदान गरिएको छ। दोस्रो भएकी उनले पुरस्कारस्वरूप नगद ७ लाख पाएकी हुन्।

त्यस्तै, हिमाल मिडियाका रमेशकुमार तेस्रो भएका छन्। उनको शेयर बजारको बदमासीबारे लेखिएको समाचारका लागि तेस्रो पुरस्कार प्रदान गरिएको बताइएको छ। उनी नगद ३ लाखसहित सम्मानित भए। 

२०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशन र प्रशारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्रीले यस प्रतिस्पर्धामा सहभागी गराइएको फाउन्डेसनले जनाएको छ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पुरस्कृत हुने पत्रकारहरूलाई मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य अनि सन्दुक रुइतले पुरस्कार वितरण गरेका थिए। 

यस्ता पुरस्कारहरू आत्मा सन्तुष्टिका लागि दिँदै आएको आयोजक बारबरा फाउन्डेसनले जनाएको छ। 

जेठ ३, २०८१ बिहीबार १६:५५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।