गायक सीताराम पोखरेलको हिजोका कुरा : रेडियो नेपालका कर्मचारी रिसले चुर भएर बाहिरिन्थे, टेन्सन जति हाम्लाई

गायक सीताराम पोखरेलको हिजोका कुरा :  रेडियो नेपालका कर्मचारी रिसले चुर भएर बाहिरिन्थे, टेन्सन जति हाम्लाई

वि.सं. २०१६ सालमा खोटाङको सिमपानीमा जन्मिएका हुन् गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल। जन्म खोटाङमा भए पनि हुकाइ र पढाइ भने विराटनगरमा भयो। छोराछोरी पढाउनकै लागि उनक बुवा विराटनगरको तीनपैनी सरे।

बाल्यकालदेखि नै पढाइ र गायनमा रुचि भएका उनले २०४४ सालमा रेडियो नेपालमा गीत रेकर्ड गरे। रेडियो नेपालमा पहिलो पटक स्वर परीक्षा पास गरेपछि उनी गायनमै बढी सक्रिय हुन थाले। यद्यपि आफ्नो काम भने नियमित नै गर्थे।

नेपाल आयल निगममा ३० वर्ष सेवा गरेर ६ वर्षअघि अवकाश लिएका उनले स्वर परीक्षा दिएपछि पहिलो पटक ‘सजाइदियौ जिन्दगी नै मेरो’ बोलको गीत रेकर्ड गरे। क्यासेट निकाल्न कम्पनीको चक्कर लगाइरहनुपर्ने बेला थियो त्यो।

३० वर्षे जागिरे जीवन र आफ्ना व्यक्तिगत अनुभवलाई उनले उकेराको नियमित स्तम्भ हिजोका कुरामा यसरी बताएका छन्।

बाल्यकाल
म चार/पाँच वर्षको हुँदा बुवाले हामीलाई लिएर विराटनगर झर्नुभयो। म घरको जेठो छोरो। दुई भाइ र तीन दिदीबहिनी छन् मेरा। हामी विराटनगर आउँदा देशमा पञ्चायत व्यवस्था रहेछ। तर, त्यतिबेला राजनीतिको चहलपहल केही पनि थिएन। विराटनगरको विराट निम्न माध्यमिक विद्यालयमा भर्ना भएँ। खोटाङका स्कुलमा खासै विद्यार्थी नेदेखेको मैले विराटनगरमा विद्यार्थी देखेर चकित परेँ।

अत्यधिक पढ्ने विद्यार्थीहरू थिए। अहिलेका मान्छे, त्यो बेलामा छोरी मान्छेलाई पढाउँदैनन् भनेर हल्ला गर्छन्। तर त्यो बेलामा छोरी मान्छेहरू पनि पढ्थे। छोरीलाई पढाउनु हुँदैन भन्ने सोच भए मेरा दिदीबहिनीहरूले पनि पढ्दैनथे होला। हाम्रो कक्षामा भरिभराउ थियौँ। पढ्न नपाउने भन्ने थिएन।

खोटाङबाट सानैमा विराटनगर झरेको हुनाले त्यहाँको बारेमा मलाई त्यति प्रष्ट छैन। विराटनगरमा अहिले जस्तो बाक्लो घरहरू थिएन त्यो बेलामा। मान्छेहरू यतिका होलान् भनेर पनि सोचेको थिइनँ। कुन घर कस्को हो भन्ने ठ्याक्कै थाहा हुन्थ्यो।

विराटनगरमा पढ्ने विद्यार्थीहरू धेरै थिए। म दुई कक्षामा भर्ना हुँदा थुप्रै विद्यार्थी रहेको अहिले पनि सम्झन्छु। स्कुलमा हरेक हप्ता कुनै न कुनै कार्यक्रमहरू हुन्थेँ। त्यति बेला म गीत गाएर शिक्षक र स्कुलका साथीहरूलाई मनोरञ्जन दिलाउँथे।

त्यतिबेला सरकारको विरोध हुन्छ कि हुँदैन भनेर कलेजमा सीआईडी खटाइन्थ्यो। पार्टीका मान्छेले केही गतिविधि गर्छन् कि भनेर होला सायद। तर मैले उनीहरूबाट कुनै पनि नराम्रो घटना भएको थाहा पाइनँ।

मैले स्कुलमा गीत गाएको सुनेर धेरैले मेरो तारिफ गर्थे। मेरो अलिक बढि रुचि भने संगीततर्फ नै थियो। हाम्रो समयमा कस्तो थियो भने एउटै स्कुलमा पढेका कोही संगीततर्फ लागियो, कोही अहिलेका राम्रा निर्देशक तथा कलाकार भएका छन्।

हामीसँगैका रमेश बुढाथोकी नेपालका राम्रा निर्देशक तथा कलाकार भएका छन्। सानैबाट हामीले लक्षण देखाउन थालिसकेका थियौँ। कोही अभिनयतर्फ लागे, कोही गायनतर्फ। मेरो विशेष रुचि गायनमा थियो र त्यतै अग्रसर भएँ।

हिन्दी गीतको प्रभाव 
मैले थाहा पाउँदा विराटनगरमा नेपालीभन्दा हिन्दी गीतको प्रभाव बढी थियो। त्यस कारण सुरुवातका चरणमा हिन्दी गीतहरू नै गाउँथे। एसएलसीपछि २०३२ सालमा विराटनगरमा टाइरोज ग्रुप भन्ने खोल्यौँ। यो विराटनगरको पहिलो म्युजिकल ब्याण्ड हो। यो ब्याण्ड निकै पपुलर थियो त्यतिबेला।

त्यो समयमा भुपेन्द्र रायमाझी, हरिश माथेमा, विजय पाण्डे, प्रकाश पोखरेल, मोहन अधिकारी लगायत थुप्रै थियौं त्यो ब्याण्डमा। अहिले भन्दा ५० वर्षअघि खोलेको यो ब्याण्डबाट झापाको भद्रपुर, राजविराज, सिराहा, सप्तरी लगायत काठमाडौंमा पनि हामीले कार्यक्रम गरेका थियौँ।

यो ब्याण्डबाट प्राय जसो हिन्दी गीतहरू गाउने गरिन्थ्यो। नेपाली गीत पनि गाइन्थ्यो तर फाट्टफुट्ट मात्रै। त्यतिबेला नेपाली गीतहरू थोरै भएको हुनाले हिन्दी गीत बढि गाउने चलन थियो। गीतार अनि ड्रमसेट किन्नका लागि अहिलेको जस्तो प्रशस्त पैसा हुँदैनथ्यो।

देउसी भैलो लगायतबाट उठाएको पैसाले किनेका थियौं। त्यतिबेला पनि ड्रमसेट लगायत सबै सामग्री भारतमा किन्न पाइन्थ्यो। घर नजिकै जोगबनी नाका हुँदै भारतबाट किनेर ल्याउथ्यौँ।

कलेज पढ्दा मात्र पञ्चायत भन्ने थाहा भो
एसएलसी दिँदा समेत मलाई पार्टीको बारेमा केही पनि थाहा थिएन। जब २०३४ सालमा महेन्द्र मोरङ क्याम्पसमा भर्ना भएँ तब कांग्रेस र कम्युनिष्टबारे थाहा पाइयो। सेमिस्टर प्रणाली लागू भएको थियो त्यो बेलामा। चार वटा सेमिस्टर प्रणालीका हामी पहिलो विद्यार्थी थियौँ।

त्यतिबेला सरकारको विरोध हुन्छ कि हुँदैन भनेर कलेजमा सीआईडी खटाइन्थ्यो। पार्टीका मान्छेले केही गतिविधि गर्छन् कि भनेर होला सायद। तर मैले उनीहरूबाट कुनै पनि नराम्रो घटना भएको थाहा पाइनँ। 

मेरो लाइन अलिक फरक भएर पनि हो कि, मैले त्यस्तो अनुभवै गरिनँ। पञ्चायतीहरुले शोषण गर्छन् भन्छन् अहिले पनि। त्यो पनि अनुभव गर्न पाइनँ मैले।

कम्तिमा पनि आठ वटा गीत रेकर्ड गरेर क्यासेट निकाल्ने चलन थियो। त्यसका लागि म्युजिक कम्पनी चाहिन्थ्यो। यसका कम्पनीहरूले नयाँ श्रष्टाहरूको गीति क्यासेटै लिन मान्दैनथे। लिए पनि बिक्रि भएको पैसा दिनै मान्दैनथे।

ब्याचलर सकेपछि २०३९ सालमा काठमाडौं आएर एमएमा भर्ना भएँ। कलेजमा मेरो भेट अभिनेता प्रकाश अधिकारी लगायतसँग भयो। मेरो मनमा कसरी गीत गाउने अनि रेडियो नेपालबाट कसरी सुनाउने भन्नेतिर मात्र ध्यान थियो।

काठमाडौं आएर रेडियो नेपालमा स्वर परीक्षा दिन मलाई चार वर्ष लाग्यो। २०४३ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएँ। नतिजा आउनै छ महिना लाग्यो। पास भएको सूचीमा मेरो नाम पनि आयो। त्यतिबेला महिनामा एक पटक रिजल्ट निस्किन्थ्यो। त्यसमा १५,२० जना जति पास हुन्थेँ।

स्वर परीक्षा पास गरेपछि २०४४ सालको जेठ/असारमा ‘सजाइदियौ जिन्दगी नै मेरो’ बोलको गीत रेकर्ड गरेँ। त्यतिबेलादेखि अहिलेसम्म मैले सात वटाभन्दा बढी एल्बम निकालिसकेको छु भने दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेको छु।

एकैवर्ष सुरु भयो गायन, वैवाहिक जीवन र जागिर 
भनिन्छ नि, मान्छेले आँटेर मात्र हुँदैन। भगवानले पनि जुराउनुपर्छ। मेरो लागि २०४४ साल फलदायी वर्ष बन्यो।

त्यसै साल मैले गीत रेकर्ड गरेँ, मेरो विवाह पनि भयो र नेपाल आयल निगममा कर्मचारीका रूपमा पनि नियुक्ति पाएँ। यसअघिका वर्षमा केही न केही बिग्रिरहेकै थियो।

त्यतिबेला भन्ने बितिक्कै जागिर पाइन्थ्यो भन्ने गरेको सुन्छु। तर, मैले त्यस्तो भेटिनँ। लिखित परीक्षा र सामान्य सोधपुछ हुन्थ्यो। कतिपयले के गर्थे भने पास भएको छ भने पनि हाकिमहरूले अर्को मान्छे राखिदिन्थेँ। अफिसको हाकिम भयो र आइज भन्यो भने त्यतिबेला जागिर पाइन्थ्यो।

मान्छेले भने अनुसारको घर-घरबाट जागिर खान लैजान्थेँ भन्ने कुरा वाइयात हो। हाकिमको मुडमा भर पर्थ्यो। मैले त परीक्षा दिएरै पास गरेर आयल निगममा जागिर खाएको हो। त्यहाँ मैले ३० वर्ष काम गरेर निर्देशक भएर अवकाश पाएँ।

मिस्टेक हुँदा रिसले चुर भएर बाहिरिन्थे बाध्यवाधक
रेडियो नेपालमा पहिलो पटक गीत गाउन जाँदाको एउट अनुभव छ। त्यतिबेला गाउने र बजाउने सँगै गरिन्थ्यो, अहिलेजस्तो ट्र्याकमा गाउने चलन थिएन।

पहिलो गीत रेकर्ड गर्दा खुसीले विहान नौ बजे नै म रेडियो नेपाल पुगेका थिएँ। अफिस खुल्ने १० बजे रहेछ। बल्ल गीत रेकर्डका लागि सुरसार भयो। गीत गाउन र बाध्यवाधन एकैपटक तालमा ताल मिलाएर काम गर्नुपर्ने हुन्थ्यो।

एकै टेकमा रेकर्ड गर्नुपर्ने भएकाले कसैले सानो गल्ती गरेको खण्डमा सबैले दुःख पाउँथे अनि सुरुबाटै गर्नुपर्थ्यो। यस्तो बेलामा बाध्यवादकहरू आफैँ रिसाएर हिँड्थे। मेरो पहिलो गीतमा यस्तै भयो।

म त गीत गाउनमा कन्फिडेन्ट थिएँ। उनीहरू आफैँले बिगार्दा पनि रिसाउँथे। रिसाएर हिँडेपछि कोही क्यान्टिनमा गएर बस्दिन्थे भने कोही कता। सारै पो थियो त त्योबेला त! बिहान ९ बजे रेडियो नेपाल छिरेको म ३ बजेतिर बल्ल एउटा गीत रेकर्ड भयो।

एकदमै धेरै अनुरोधपछि केहीले मेरो गीतमा अभिनय गरिदिएका छन्। सायद मेरै गीतबाट होला नेपाली अभिनेत्रीहरूले म्युजिक भिडियोमा अभिनय गर्न थालेको।

रेडियो नेपालमा समय लिएर गीत रेकर्ड गर्नै कठिन थियो। त्यतिबेला नातिकाजी, नारायण गोपाल, तारादेवी लगायतका गायक गायिकाहरू रेडियो नेपालमा भेटिन्थेँ। उनीहरूको रुममा बसेर हार्मोनियम बजाउने र गाउने गर्थेँ म। समयसँगै त्यति निकट भइसकेको थिएँ म। उनीहरूले मलाई कहिल्यै नराम्रो व्यवहार गरेनन्।

रेडियो नेपालमा केहि गीत रेकर्ड गरेपछि म्युजिक नेपाल खुल्यो। निजी क्षेत्रबाट पनि रेकर्डिङ स्टुडियो खुल्न थालेपछि बाहिर नै बढी गीत रेकर्ड गर्न थालियो। त्यतिबेला के थियो भने पहिलो कुरा त गीत रेकर्ड गर्ने गाह्रो। रेकर्ड गरिसकेपछि म्युजिक कम्पनी पाउनै मुस्किल। 

त्यतिबेला कम्तिमा पनि आठ वटा गीत रेकर्ड गरेर क्यासेट निकाल्ने चलन थियो। त्यसका लागि म्युजिक कम्पनी चाहिन्थ्यो। कम्पनीहरूले नयाँ श्रष्टाहरूको गीति क्यासेट लिनै मान्दैनथे। लिए पनि बिक्री भएको पैसा दिनै मान्दैनथे।

पैसा लिनकै लागि पटक-पटक म्युजिक कम्पनीको चक्कर लगाइन्थ्यो त्यतिबेला। धेरै पटक धाएपछि चैँ दिन्थ्यो है, मायै लागेको जसरी। अहिले त समय फेरिहाल्यो नि! एउटा गीत निकाल्यो, भिडियो बनायो, युट्युबमा हाल्यो, भइहाल्यो।

श्रीमतीसँग बोलचाल बन्द
म आयल निगममा जागिर खान जान्थेँ। रेडियो नेपालमा आफ्नो गीत कतिबेला बज्छ थाहा नहुने। भयो भने पनि अफिसमा रेडियो सुनेर क्यासेटमा रेकर्ड गर्ने कुरै भएन।

मैले श्रीमतीलाई दुई बजेतिर मेरो गीत रेडियोमा बज्छ, तिमीले क्यासेटमा रेकर्ड गर्देउ है भनेर अह्राएँ। उनले हुन्छ भनिन्। म अफिसतिर लागे। गीत रेकर्ड भयो भने सबैलाई सुनाउन मिल्छ भन्ने सोचले बेलुका घर आउँदा गीत नै आधा मात्र रेकर्ड गरिछन्।

त्यतिबेला उनको र मेरो ठूलै झगडा पर्यो। तीन चार दिन त हाम्रो बोलचाल नै बन्द भयो। गीतको महत्व त्यस्तो थियो त्योबेलामा।

अभिनेत्रीहरू म्युजिक भिडियोमा अभिनय गर्नै नमान्ने
मैले थाहा पाउँदा नेपाली फिल्ममा अभिनेत्रीहरू फिल्म बाहेकका गीतमा नाच्नै नमान्ने। उनीहरूलाई अभिनय गरिदेउन भन्दा घृणाको दृष्टिकोणले हेर्थे। एकदमै धेरै अनुरोधपछि केहीले मेरो गीतमा अभिनय गरिदिएका छन्।

सायद मेरै गीतबाट होला नेपाली अभिनेत्रीहरूले म्युजिक भिडियोमा अभिनय गर्न थालेको। बेष्ट म्युजिक भिडियो सीताराम पोखरेल नामक भिसिडीमा पूर्व मिस नेपाल रुवि राणा, भरना थापा, अरुणिमा लम्सालदेखि अहिलेकी रीमा विश्वकर्मासम्मले अभिनय गरेका छन्।

त्यसअघि उनीहरूले नेपाली गीतको भिडियोमा अभिनय गर्न मान्दैनथे।

३ जेठ, २०८१, १४:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।