भारतीय कप्तान सुनिल क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

भारतीय कप्तान सुनिल क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं : भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन्। एक भिडियो सामाजिक सञ्जालबाट सेयर गर्दै क्षेत्रीले सन्यासको जानकारी दिएका हुन्।

सन्यास घोषणा गर्ने क्रममा सुनिल क्षेत्रीले भने, ‘देशका लागि पहिलो पटक खेल्ने मौका पाएको दिन म कहिल्यै बिर्सन सक्दिनँ। म्याचअघि राष्ट्रिय टोलीका प्रशिक्षक सुकी सर मसँग आएर आफ्नो यात्रा सुरु गर्न लागेका छौ भन्नुभएको थियो।म त्यो भावना बिर्सन सक्दिन।’

४० वर्षीय क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए। क्षेत्रीले पनि पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

सुनिल क्षेत्रीले १५० खेलमा ९४ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्रीले सर्वाधिक गोल गरेका छन्।

सुनिल क्षेत्री भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन्।

जेठ ३, २०८१ बिहीबार ११:१०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।