'उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा'

'उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा'

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन सरकारको नीति तथा कार्यक्रममा समग्रमा सबैतिरबाट उत्साहजनक प्रतिक्रिया आएको बताएका छन्। 

नेपाल उद्योग बाणिज्य महासंघले बुधबार आयोजना गरेको प्रि–बजेट छलफलमा उनले नीति कार्यक्रम उत्साहजनक आएको भन्दै यसले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताए। 

नीतिहरूसँग मेल खाने बजेट र बजेटसँग मेल खाने मौद्रिक नीति आउने प्रतिबद्धता उनले व्यक्त गरे। 

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा धेरै विषयहरू आएका छन्। नीतिगत रुपले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने कुरा नै मुख्य छ। विभिन्न क्षेत्रहरू सम्बोधन गरिएको छ र समग्रमा सबैतिरबाट उत्साहजनक आएको छ भन्ने प्रतिक्रिया प्राप्त गरेका छौं। विगतमा बेला बेला प्रश्न उठाएको जस्तो यसपटक हुँदैन। नीति तथा कार्यक्रमकै वरिपरिबाट आएका नीतिहरूसँगै मेल खाने गरि बजेट आउँछ, त्यसैगरी बजेटसँग मेल खाने गरि मौद्रिक नीतिहरू आउँछ यो हाम्रो छलफलको प्रतिबद्धता हो।’ 

नियमभित्र बसेर र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गरेको भन्दै निजी क्षेत्रलाई उनले निरुत्साहित नहुन आग्रह गरेका छन्।

उनले भने, ‘आर्थिक अवस्था सुधार गर्ने, सबैको मनोबल बढाउने, व्यवसाय र उद्याममैत्री वातावरण बनाउने जसले स्वभाविक रुपले यहाँ काम गर्ने वातावरण बन्छ। कुनै क्षेत्र विशेषलाई तार्गेट गरेर सरकारले काम गर्दैन। यहाँहरु निरुत्साहित हुनुहुँदैन, हामीलाई पनि दबाब दिनु प्रेरित गर्नु, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध नै छ। बजेटमार्फत पनि यो कुरा देख्नुहुनेछ, नियमभित्र बसेर, यथार्थ धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गर्छौ।’ 

उनले कृषि क्षेत्रलाई निर्वाहमुखि मात्र नभएर उद्यम, व्यवसायसँग जोड्ने र व्यवसायीक उत्पादनतिर जाने कुरामा पनि सरकार प्रतिबद्ध रहेको बताए। 

जेठ २, २०८१ बुधबार २१:५३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।