कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, धन्यवाद सभासमेत प्रभावित

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, धन्यवाद सभासमेत प्रभावित

काठमाडौं : संघीय संसदको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध कायमै राखेको छ। 

मंगलबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा कार्यसूचीमा प्रवेश नगर्दै कांग्रेस नाराबाजीमा उत्रिएपछि बैठक नै स्थगित भएको छ। 

विगत दुई महिनादेखि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। 

‘सहकारी ठग राजीनामा दे’ ‘सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’ लगायतका नारा लगाउँदै कांग्रेस संसदमा नाराबाजीसहित अवरोधमा उत्रिएका हुन्। 

धन्यवाद सभा मात्रै भएकाले बैठक चल्न दिन सभामुखले आग्रह गरे पनि कांग्रेसले मानेन। सहकारी ठगलाई कारबाही गर, संसदीय मर्यादा कायम गर लगायतका नारा कांग्रेसका सांसदहरूले लगाए।

बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरे आगामी बैठक बिहीबार बिहान ११ बजे बस्नेगरि स्थगित गरेका छन्।  

कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिएको थियो। यद्यपि सरकारको कुनै पनि कार्यसूचीमा प्रवेश हुन नदिने कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठक निर्णय गरेको थियो। 

जेठ १, २०८१ मंगलबार १८:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।