सरकारले पूर्व राजपरिवारको सम्पत्ति व्यावसायिक उपयोग गर्ने
काठमाडौं : सरकारले पूर्व राजपरिवारको स्वामित्वको सम्पत्ति व्यावसायिक तथा रणनीतिको योजना बनाएर प्रयोग गरिने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सकारको तर्फबाट आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व राजपरिवारको स्वामित्वको सम्पत्ति समुचित उपयोग गर्ने बताए।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले ‘राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’ भन्ने व्यवस्था गरेसँगै अहिले पूर्वराजाको सम्पूर्ण सम्पत्तिको स्वामित्व नेपाल ट्रस्ट मार्फत सरकारको मातहतमा छ।
सरकारले उनीहरूको सम्पत्तिको खोजबिन तथा संरक्षणलाई समेत निरन्तरता दिने नीति लिएको छ। ट्रस्टका अनुसार आ.वा २०७८/७९ को अन्त्यमा चालु खातामा रहेको मौज्दात करिब ३ करोड ७८ लाख ४१ हजार रहेको छ भने मुद्दती खातामा रहेको मौज्दात रु १ अर्ब १६ करोड तीन लाख पचास हजार रहेको छ।
त्यस्तै व्यावसायिक रुपमा प्रयोग भएको भवनहरूमा काठमाडौं प्लाजा, सोल्टी बाहिरी कम्प्लेक्स, गोकर्ण फरेस्ट रिसोर्ट, श्री निवास बंगला, काठमाडौं बिजनेस पार्क, सार्वजनिक खरिद अनुगमन कार्यालय, दरबार मल, चुलीवन जग्गा, धनकुटा र गरिवी निवारण कोष भवन रहेको छ।
विदेशमा रहेको सम्पत्तिबारे भने अझै पनि ट्रस्ट बेखबर देखिन्छ।
जेठ १, २०८१ मंगलबार १७:३७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।