‘फर्की फर्की’मा अनमोलको अनुहार चल्ला कि अभिनय!

‘फर्की फर्की’मा अनमोलको अनुहार चल्ला कि अभिनय!

काठमाडौं : अभिनेता अनमोल केसीले फिल्म क्षेत्रमा करियर बनाउन दौडेको १० वर्ष भइसक्यो। यो दश वर्षमा १० वटा फिल्ममा काम गरे पनि ती फिल्महरू बक्स अफिसमा सफल भएका छैनन्।

‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ले ठिकठिकै व्यापार गरेको थियो। उनी र उनी पक्षधर भने यसलाई नै सुपरहिट मान्छन्।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छड्के २’ले बक्स अफिसमा यति कमजोर बन्यो कि उनले दर्शकलाई धोका नदिने भनेर बाचा गर्दै माफी नै माग्नुपर्यो।

उनको वाचा अनुसार निर्माता रोहित अधिकारी उनमा लगानी गर्न तयार भए र बन्यो दशौं फिल्म ‘फर्की फर्की’। अनमोलले फिल्मका लागि ५० लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माता अधिकारी अन्तर्वार्ताहरू बताउँदै हिँडेका छन्।

जेठ १० गते प्रदर्शनमा आउन लागेको फिल्म टाइम ट्राभलको कथामा आधारित छ। लभरब्वाई, खेलाडी, ग्याङस्टारका रूपमा दर्शकमाझ आफूलाई प्रस्तुत गरेका उनी ‘फर्की फर्की’मा ‘भगवान’ बनेका छन्।

हरेक अन्तरवार्तामा ‘तपाईं भगवान कतिको मान्नुहुन्छ?’ जस्ता प्रश्नले हैरान भएका अनमोलले आफूले आफूलाई भगवान नठानेको बताउँदैको सास्ती छ।

पहिलो फिल्मदेखि दशौं फिल्मको ट्रेलरसम्म आइपुग्दा उनको अभिनय सुधारिएको देखिन्छ। एक समय त उनलाई अभिनय भन्दा पनि अनुहारले चलेको कलाकारको ट्याग लाग्ने गर्थ्यो। दशौं फिल्मसम्म आइपुग्दा उनले आफ्नो अभिनय कति सुधारे भन्ने लेखाजोखा त दर्शकले गरिहाल्छन्।

फिल्म ‘गाजलु’मा सहकार्य गरेका अनमोल र रोहित अधिकारीको ‘फर्की फर्की’ दोस्रो सहकार्य हो। सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको यस फिल्ममा जसिता गुरुङसँग उनको जोडी बाँधिएको छ।

अनमोल र जसिताका अलवा फिल्ममा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतले अभिनय गरेका छन्।

जेठ १, २०८१ मंगलबार १३:४३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।