स्वास्थ्य उपकरण खरिदमा तमासा भएको हल्ला छ, विज्ञको सल्लाह लिएर अघि बढ्छु : नवनियुक्त स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य उपकरण खरिदमा तमासा भएको हल्ला छ, विज्ञको सल्लाह लिएर अघि बढ्छु : नवनियुक्त स्वास्थ्यमन्त्री यादव

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले स्वास्थ्य उपकरण खरिदमा तमासा नै भएको जस्तो हल्ला रहेको बताएका छन्। जनता समाजवादी पार्टीका तर्फबाट नियुक्त भएका मन्त्रि यादवले मन्त्रालयमा सोमबार साँझ पदभार ग्रहण गर्दै यस्तो बताएका हुन्। 

 सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, ‘स्वास्थ्य उपकरणमा पनि तमासा नै जस्तो बाहिर हल्ला छ।’

स्वास्थ्य उपकरण खरिदमा देखिएका अनियमिततालाई रोक्नु हुन्छ भनेर कसरी विश्वास गर्ने भन्ने उकेराकर्मीको जिज्ञासामा मन्त्री यादवले थपे, ‘विश्वास मेरो कामले देखाउँछ। म काम गरेर त्यो कुराको जानकारी गर्छु। म काम गरेर देखाउँछु।’

उनले खरिद उपकरणमा भएको तमासालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयको सवालमा मन्त्रालयका विज्ञ कर्मचारीसँग सल्लाह लिएर अघि बढ्ने बताए।

 ‘त्यसलाई कसरी नियन्त्रण गर्ने, कसरी पारदर्शिता बनाउने, त्यो विषयमा यहाँका सिनियर कर्मचारीहरूसँग सल्लाह गरेर विज्ञहरूसँग सुझाव लिएर अगाडि बढ्छु,’ नवनियुक्त मन्त्री यादवले भने।

त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पताललाई छुट्याउने वा नछुट्याउने भन्ने विषयमा भने अध्ययन गरेपछि मात्रै भन्न सकिने मन्त्री यादवले जानकारी दिए।

‘गहिरो रुपमा त्यसमा हेरेर अध्ययन गरेर नै बोल्न मिल्छ,’ उनले भने, ‘पहिले बुझ्छु अनि गरेर देखाउँछु।’

नवनियुक्त मन्त्री यादवले विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालको ओएण्डएम गरी जनशक्ति थप गर्दै जाने जस्ता विषयमा पहिलो निर्णयका रुपमा हस्ताक्षर गरेका छन्।  

त्यसैगरी जसपाबाटै स्वास्थ्य राज्यमन्त्रीका रुपमा हसिना खानले मन्त्रालयमा कार्यभार सम्हालेकी छन्।

वैशाख ३१, २०८१ सोमबार २१:१३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।