दर्शकले टिजरमै मन पराएनन् साम्राज्ञीको ‘लण्डन टु पेरिस’, झन हलमा के होला !
काठमाडौं : फिल्म ‘चित्रा’ निर्देशन गरेका घनश्याम लामिछानेले ‘लण्डन टु पेरिस’ निर्माण गरे। केही वर्षअघि नै थालनी भएको यो फिल्मको सुटिङ विभिन्न कारणले रोकिएको थियो। चित्रा रिलिज पछि भने उनले यो फिल्मको छायांकन सके। त्यसपछि उनको टिमले फिल्मको गीत र टिजर नै युट्युबमार्फत रिलिज गर्यो।
तर, दुवैलाई दर्शकले मन पराएका छैनन्। युट्युबमा रिलिज भएको टिजरलाई तीन दिनमा २ लाख ८८ हजार पटक हेरिएको छ। कमेन्ट पनि ५०० सम्म नाघ्न सकेको छैन। त्यसमध्ये पनि अधिकांश कमेन्ट त जेठ १० गते रिलिज हुने ‘पुजार सार्की’ र ‘फर्की फर्की’को समर्थनमा छन्। यो फिल्म हेर्छु भन्ने कमेन्ट खोज्न निकै समय नियाल्नुपर्छ।
आगामी जेठ २५ गतेबाट रिलिज हुने यो फिल्ममा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का र गरिमा शर्माको मुख्य भूमिका रहेको छ। यसै फिल्मबाट अभिनेत्री शर्माले डेब्यु गरेकी हुन्। फिल्ममा यत्तिका नामी कलाकार राख्दा पनि कमेन्टकर्ताले उनीहरुको नाम लिन नै गाह्रो मानेका छन्।
उल्टै ,कमेन्टकर्ताले निर्देशक घनश्यामलाई फिल्म विदेशमा गैर छायांकन गतिलो नहुने सुझाव दिएका छन्।
टिजर भिडियोको कमेन्टमा सविन निरौलाले लेखेका छन्, ‘कथाबस्तुमा अभिनयमा अलि ध्यान दिनुपर्यो के। विदेशमा गएर फिल्म बनाउँदैमा राम्रो हुन्छ भन्ने हुँदैन। लभ स्टोरी ब्रेकअप आदि। यस्ता फिल्म धेरै हेरियो अलि नयाँ खाल्को फिल्म चाहिन्छ।’
उनी बाहेक अधिकांशले अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ र प्रदीप खड्का लगायतले अभिनय गरेको फिल्म ‘पुजार सार्की’का कमेन्ट बर्षिएका छन्। किन होला त? कतै फिल्ममा निर्देशकले यौनलाई अलिक ओपन गर्न खोजेर पो होकी? या गतिलो कन्टेन्ट नभएर हो? नत्र भने त टिजरमा यसरी दर्शक नभड्किनुपर्ने।
टिजरको कुरा गर्ने हो भने २ मिनेट लामो टिजरमा दुई युवायुवतीको रोमान्स, नोकझोक र विछोडलाई निर्देशकले मसला बनाउने कोसिस गरेका छन्। कलाकार निश्चल र साम्राज्ञीबीचको प्रेम, चुम्बन र खटपट सँगै उनीहरूबीचको रोमान्स, झगडा टिजरमा राखिएको छ। जसले दर्शकलाई आकर्षित गर्नै सकेन।
प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेखेको फिल्मले गीतमा समेत दर्शकको साथ पाउन सकेको छैन।
एक महिनाअघि बिग मुभिज्मा पत्रकार सम्मेलनमार्फत फिल्ममा समावेश गीत ‘खुल्ला आकाश’रिलिज गरिएको थियो। यो गीतले एक महिनाको अन्तरालमा ३ लाख ५२ हजार युट्युब भ्युज कटाएको छ।
कलाकार मात्रै गतिलो भएर हुन्न, फिल्मको कथा पनि गतिलो हुनुपर्यो भन्ने दर्शकले निर्देशकलाई राम्रै झापड दिएका छन्। यो कुरा निर्देशकले कसरी बुझ्लान्, त्यो उनैले जानून्।
वैशाख ३१, २०८१ सोमबार १९:०२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।