केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्च अदालतद्वारा खारेज

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्च अदालतद्वारा खारेज

एजेन्सी : भारतको सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको रिट खारेज गरेको छ।

रिटमा मदिरा नीति मुद्दामा पक्राउ परेपछि अरविन्द केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनु पर्ने माग गरिएको थियो। तर, सर्वोच्च अदालतले रिट नै खारेज गरिदिएको हो।

न्यायाधीशद्वय सञ्जीव खन्ना र न्यायमूर्ति दिपङ्कर दत्तले यस सम्बन्धमा दिल्ली उच्च न्यायालयमा मुद्दा चलिरहेकाले उक्त मुद्दामा हस्तक्षेप गर्न नसक्ने आदेश जारी गर्यो।

इजलासले मुख्यमन्त्री हटाउने कानूनी अधिकार अदालत र न्यायाधीशलाई नभएको समेत स्पष्ट पारेको छ। दिल्लीका उपराज्यपालले चाहेको खण्डमा यस मामिलामा हस्तक्षेप गर्नसक्ने बताएको छ।

प्रवर्तन निदेशालय अर्थात ईडीले अरविन्द केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो। हाल निर्वाचनलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले उनलाई अन्तरिम जमानत दिएको छ। तर, केजरीवाललाई जुन १ मा फेरि जेल जानुपर्नेछ।

यस मामिलामा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया जेलमा छन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंह जमानतमा छन्। पक्राउ परेपछि अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए।

वैशाख ३१, २०८१ सोमबार १३:२६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।