सिमेन्ट उद्योगको धुँवा, धुलो र ध्वनि प्रदूषणले स्थानीय आजित, नियन्त्रणमा छैन चासो

सिमेन्ट उद्योगको धुँवा, धुलो र ध्वनि प्रदूषणले स्थानीय आजित, नियन्त्रणमा छैन चासो

बुटवल : नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट उद्योगले धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न कुनै चासो नदिएको पाइएको छ।

सिमेन्टको धुवाँ, धुलो र ध्वनिबाट आजित भएका स्थानीयले पटक-पटक समस्या समाधानका लागि उद्योगलाई आग्रह गरे पनि बेवास्ता गर्दै आएको छ।

उद्योगबाट निस्कने धुवाँ,  धुलो र ध्वनि प्रदूषणका कारण स्थानीयहरू बिरामी पर्ने गरेका छन्। शरीर चिलाउने, घाँटी सुक्ने जस्ता समस्याले हैरानी खेप्न बाध्य भएको स्थानीय अर्जुन रानाले बताए।

‘उद्योगबाट निस्कने प्रदूषणलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘हामी कसरी बाच्ने?’

अर्का स्थानीय मनमोहन यादवले उद्योगलाई पटक/पटक धुवाँ र धुलो नियन्त्रण गर्नको लागि आग्रह गरे पनि बेवास्ता गरेको बताए। उद्योगले गर्नुपर्ने सामाजिक उत्तरदायित्वको काम समेत नगरेको उनको भनाइ छ।

यादवको भनाइअनुसार उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ खोला मिचेर डम्पिङ्ग गर्दा खोलाले धार परिवर्तन गरी बस्ती कटान गर्दै आइरहेको छ। उद्योगबाट निस्कने धुलोका कारण स्थानीयवासीले लगाएको बालीको उत्पादन घट्ने गरेको उनको भनाइ छ।

देवदह नगरपालिका र उद्योगबीच खोलामा तटबन्धन गर्ने, तारजाली लगाउने र खोलामा कच्वे बनाउने सहमति भएको थियो। तर, उद्योगले कुनै पनि सहमति कार्यान्वयन गरेको छैन। सहमति कार्यान्वयन नगरेको भन्दै नगरपालिकाले उद्योगलाई सचेत समेत गराएको छ।

देवदह नगरपालिका-४, का वडाअध्यक्ष दमननाथ रेग्मीका अनुसार उद्योग नवलपरासीमा भए पनि त्यसको असर देवदह क्षेत्रमा परेको छ। उद्योगले धुवाँ र धुलो नियन्त्रणको लागि दीर्घकालीन उपायहरू अवलम्वन गर्नुपर्ने वडाअध्यक्ष रेग्मीले बताए।

यसैगरी देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले उद्योगले नवलपरासी तर्फ तटबन्ध गर्दा देवदहतिरको जमिनमा कटान गरेको बताए। उद्योगले देवदह नगरपालिकासँग गरेको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

उद्योगका प्रतिनिधि जीवन निरौलाले भने उद्योग मापदण्डमा रहेर सञ्चालन गरेको दाबी गरे। सिमेन्ट उत्पादन गर्दा समस्या नभए पनि क्लिङ्कर धेरै स्टक रहँदा धुलोको समस्या भएको निरौलाले स्वीकारे।

क्लिङ्कर व्यवस्थापनको लागि सुधार गर्न उद्योग लागिरहेको उनको भनाइ छ। उद्योगले प्रत्येक वर्ष वातावरणीय प्रभाव अडिट गर्ने गरेको र हालसम्म त्यस्तो समस्या नदेखिएको उनले बताए।

विद्युत प्राधिकरणले नियमित विद्युत नदिँदा ठूलो आवाजमा जेनेरेटर चलाउनुपर्ने र त्यसबाट निस्कने धुवाँले प्रदूषण बढाएको निरौलाको भनाइ छ।

वैशाख ३१, २०८१ सोमबार १२:२७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।