बालबालिकामा डिप्रेशन : गर्भावस्थाको वातावरण र वंशाणु नै मुख्य कारण

बालबालिकामा डिप्रेशन : गर्भावस्थाको वातावरण र वंशाणु नै मुख्य कारण
सांकेतिक तस्बिर

वयस्क व्यक्तिलाई मात्रै हैन बालबालिकालाई पनि मानसिक समस्या हुन्छ। बालबालिकालाई मानसिक समस्या भएर डिप्रेशन हुने अनि बेलैमा औषधि उपचार नपाएको खण्डमा त्यस्ता बालबालिकाले आत्महत्यासम्मको बाटो रोज्न सक्नेतर्फ मनोचिकित्सक सजग गराउँछन्।

कान्ति बाल अस्पतालका मानसिक स्वास्थ्य इकाइका प्रमुख तथा बाल मनोचिकित्सक डा. अरुणराज कुँवर सबै उमेर समूहमा डिप्रेशन हुनसक्ने बताउँछन्। वयस्कलाई जस्तै बालबालिकामा पनि डिप्रेशन हुनसक्ने उनले जानकारी दिए।

बालबालिकादेखि युवा अवस्थासम्मको उमेर समूहमध्ये सामान्यतया आठ वर्षका बालबालिकादेखि १४ वर्षसम्मको उमेर समूहमा डिप्रेशनको जोखिम बढी हुने डा. कुँवरले बताए।

यद्यपि तुलनात्मक रूपमा वयस्य व्यक्तिमा भन्दा बालबालिकालाई डिप्रेशनको जोखिम कमै देखिने त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभागका प्रमुख तथा मनोचिकित्सक प्रा.डा. सरोजप्रसाद वझाले जानकारी दिए।

वयस्क व्यक्तिको सवालमा भने पुरुषको तुलनामा महिलालाई दुई गुणा बढी डिप्रेशनको जोखिम हुने डा. कुँवर बताउँछन्।

गर्भवती हुँदा नै दिनुपर्छ ध्यान
डिप्रेशन लगायत कुनै पनि मानसिक समस्या वंशाणु र वातावरणीय तथा सामाजिक गरी दुई कारणले निम्तने जोखिम हुने मनोचिकित्सक बताउँछन्। मनोचिकित्सक डा. वझाका अनुसार मानसिक समस्या देखिएका बुवाआमाका सन्ततिलाई वंशाणु रूपमा मानसिक समस्या निम्तन सक्ने जोखिम बढी हुन्छ।

‘धेरैजसो कुनै पनि मानसिक समस्याको कारण त वंशाणुगत नै हो,’ उनले भने, ‘बुवाआमालाई डिप्रेशन छ भने त्यस्ता बुवाआमाबाट जन्मिएका बच्चालाई डिप्रेशन हुने सम्भावना बढी नै हुन्छ।’

अर्कातर्फ कुनै पनि तनावपूर्ण वातावरणका कारणले बालबालिकामा डिप्रेशन लगायतको मानसिक समस्या निम्तनसक्ने जोखिम हुने बालमनोचिकित्सक डा. कुँवर बताउँछन्।

‘धेरै जसो बालबालिकामा वातावरण र वंशाणु दुवै मिश्रित कारणले मानसिक समस्याको लक्षण देखिन्छ,’ डा. कुँवरले भने, ‘वंशाणुगत रूपमा मानसिक समस्या भएको व्यक्तिलाई ठूलो पीडा परेको खण्डमा उसलाई डिप्रेशन देखिने जोखिम बढी हुन्छ।’

कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मनोरोग विभागका बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा. उत्कर्ष कार्की वंशाणु, जैविक र सामाजिक तथा वातावरणीय कारणले बालबालिकामा डिप्रेशनको जोखिम हुने बताउँछन्।

‘डिप्रेशन हुनेमध्ये सबैमा जैविक वा वंशाणुगत जोखिम हुन्छ,’ उनले भने, ‘जैविक करणमा डिप्रेशन हुने जिन बच्चामा छ भने उसलाई कुनै उमेरमा गएर डिप्रेशन हुनसक्छ।’

त्यसैगरी घरपरिवारमा कसैलाई डिप्रेशन थियो वा छ भने त्यस्तो परिवाको बालबालिकामा डिप्रेशनको जोखिम बढी हुने उनको भनाइ छ।

‘परिवारमा आमाबुवालाई नै डिप्रेशन हुनुपर्छ भन्ने छैन,’ डा. कार्कीले भने, ‘रगतको नाता तथा परिवारको सदस्यलाई डिप्रेशन छ भने त्यस्तो ठाउँको बालबालिकालाई डिप्रेशनको जोखिम बढी हुन्छ।’

डर, त्रास, आत्तिने जस्ता परिस्थिति निम्तिएको खण्डमा त्यस्ता बालबालिकाको मनमा आघात परि डिप्रेशनको जोखिम हुने मनोचिकित्सक बताउँछन्। बालबालिका हुर्काइको क्रममा शारीरिक तथा मानसिक र यौनजन्य जस्ता दुर्व्यवहार भएको खण्डमा त्यस्ता बालबालिकामा डिप्रेशनको जोखिम हुने डा. वझा बताउँछन्।

तर, बालमस्तिस्कका कारण यस्ता समस्या अभिव्यक्त गर्न नसक्दा बालबालिकामा तनाव उत्पन्न भएर झर्कने, एकान्तमा बस्ने जस्ता लक्षण देखाउन सक्ने उनको भनाइ छ।

नेपालमा पछिल्लो समय बालबालिकामा मानसिक रोग नै बढेको हो की सचेतना बढेका कारण उपचारको पहुँचमा पुग्नेको संख्या बढेको हो भन्ने बहस चलिरहँदा बालमनोचिकित्सक डा. कुँवर भने पहिलेको तुलनामा सचेतनाकै कारण बालबालिकामा मानसिक समस्याको पहिचान हुनेक्रम बढेको देखिएको बताउँछन्।

अर्कातर्फ सहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेसँगै बालबालिकाहरूमा एक्लोपन बढ्ने जस्ता समस्याका कारणले समेत मानसिक समस्या बढेको हुनसक्ने डा. कुँवरको विश्लेषण छ।

त्यतिमात्रै नभएर, मोबाइल, टेलिभिजन, ल्यापटप तथा कम्प्युटर जस्ता प्रविधि तथा सञ्चारका साधन लामो समयसम्म प्रयोग गर्नाले समेत बालबालिकामा मानसिक स्वास्थ्यको समस्या निम्तिने जोखिम रहेको उनी बताउँछन्।

त्यसो त आमाले बच्चा जन्माउँदा बच्चाको मस्तिस्कमा कुनै चोटपटक लागेको खण्डमा समेत त्यस्ता बालबालिकालाई मानसिक समस्याको जोखिम हुने डा. वझाले बताए।

‘गर्भवती भएको अवस्थामा आमाले गर्भको बच्चाको मस्तिस्कमा असर पर्ने किसिमको कुनै औषधि सेवन गरेको छ भने त्यस्तो आमाबाट जन्मिएको बच्चामा मानसिक रोगको जोखिम हुन्छ’, उनले भने।

त्यसैगरी धेरै ज्वरो आएर मस्तिस्कमा संक्रमण भएको बालबालिकाको शारीरिक तथा मानसिक वृद्धिमा नकारात्मक असर पर्ने डा. वझाको भनाइ छ। त्यसैले बालबालिकामा मानसिक समस्या निम्तन नदिन गर्भवती आमाले बच्चा गर्भमा रहँदादेखि नै खानपान तथा जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।

बच्चा जन्माउँदा पनि सुरक्षित तवरले जन्माउन ध्यान दिनुपर्ने हुन्छ। कुनै पनि किसिमका स्वास्थ्य समस्या निम्तिए वा संक्रमण भएको खण्डमा तुरुन्तै औषधि उपचार गर्नुपर्ने हुन्छ।

डिप्रेशनले आत्महत्याको जोखिम
सामान्यतया वयस्कको भन्दा बालबालिकामा डिप्रेशनको लक्षण अलि फरक देखिने मनोचिकित्सकहरू बताउँछन्।

मनोचिकित्सक डा. कुँवर भन्छन्, ‘वयस्कले आफ्नो भावना व्यक्त गर्न सक्छ तर बालबालिकाको भने मस्तिस्कको पूर्ण विकास नहुने भएकाले डिप्रेशनका लक्षण पनि फरक किसिमले देखिन सक्छन्।’

डा. कुँवर र डा. वझाका अनुसार डिप्रेशन भएका बालबालिकामा झर्को मान्ने, पढाइमा ध्यान नदिने, खेल्न रुची नराख्ने, साथीभाइसँग घुलमिल नहुने, पढाइमा लगाव नहुने जस्ता लक्षण देखिन्छन्।

तर, बालबालिकामा डिप्रेशन भएको अवस्थामा समेत थाहा नपाएर बुवाआमा तथा अभिभावकले गाली गर्ने जस्ता कारणले झन् यस्तो समस्या भएका बालबालिकालाई थप समस्या निम्तने जोखिम हुनेतर्फ डा. वझा सजक गराउँछन्।

मनोचिकित्सकका अनुसार उदासिनता हुने, केही गर्न पनि जाँगर नै नलाग्ने, दिक्दारी लाग्ने, शरीर कमजोर भएको महसुस हुने जस्ता डिप्रेशनका लक्षण हुन्। त्यसैगरी ध्यान केन्द्रीत नहुने, हिनताबोध हुने, सामान्य विषयमा पनि दिक्क लाग्ने, निन्द्रा नलाग्ने, खानपान गर्न मन नलाग्ने, बोल्न मन नलाग्ने, मन दुःखि भइरहने, मुटु काप्ने, एक्लै बस्ने, एक्लै बसेर रुने जस्ता डिप्रेशनका लक्षण हुन्।

तर, समयमा नै औषधि, उपचार नपाएको खण्डमा डिप्रेशनको तह बढेर बालबालिकाले मृत्युको बाटोसमेत रोज्ने जोखिम हुनेतर्फ डा. कुँवर सजग गराउँछन्।

डा. वझा पनि डिप्रेशन भएका बालबालिकालाई बेलैमा यस्तो मानसिक समस्याको उपचार नगरे आत्महत्यासम्मको बाटो रोज्ने जोखिम हुने भएकाले यसतर्फ सजग हुन सुझाव दिन्छन्।

‘डिप्रेशन कडा भएको खण्डमा कतिपय बालबालिकाले त आत्महत्या पनि गर्न सक्छन्,’डा. वझाले भने।

चनाखो बनौँ है
बालबालिकाको सामान्य दैनिकीको व्यवहारमा कहिलेकाहिँ धेरै उतारचढाव आउन सक्छ। त्यस्तो उतारचढाव निम्तिएको खण्डमा आमाबुवा तथा अभिभावक सजग हुनुपर्ने मनोचिकित्सकको सुझाव छ।

बालबालिका नियमित विद्यालय जान छाडे, साथीभाइसँग घुलमिल हुन छाडे, समयमा खानपान नगर्ने, समयमा नसुत्ने, उदासिन देखिने जस्ता व्यवहार डिप्रेशनका लक्षण भएकाले यस्तो समस्या भएको खण्डमा बालबालिकाको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गराउन डा. कुँवरको सुझाव छ।

‘कुनै पनि अवस्थामा के बाँच्ने, म मरे पनि हुन्छ भन्नेजस्ता आत्महत्याका कुरा गर्न थाल्यो भने त्यसलाई एकदमै सिरियस रूपमा लिनुपर्छ,’ उनले भने, ‘बालबालिकाको यस्तो अभिव्यक्ति डेन्जर अवस्था हो।’

यसरी बालबालिकाले आत्महत्या गर्ने जस्ता मानसिक समस्याको कुरा गर्न थालेको खण्डमा तुरुन्तै मानसिक स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नुपर्ने मनोचिकित्सकको सुझाव छ।

बालबालिकामा डिप्रेशन भएको खण्डमा बेलैमा औषधि, उपचार नगरे त्यस्तो बालबालिका वयस्क हुँदै जाँदा समेत डिप्रेशन तथा एनजाइटी स्वभावमा परिणत हुँदै जाने जोखिम हुनेतर्फ मनोचिकित्सक सजग गराउँछन्।

मानसिक रोगको समस्या भएका बालबालिकाको समयमा नै उपचार नगरेको खण्डमा बालबालिका लेखपढ गर्न नसक्ने, घरमा एक्लै बस्ने, परिवार तथा व्यक्तिसँग घुलमिल नहुने लगायतको जोखिम हुन्छ। समयमै रोगको पहिचान गरी बालबालिकाको वृद्धि, विकासमा समस्या हुनबाट बचाउन सकिने मनोचिकित्सकको सुझाव छ।

त्यसैगरी समयमा नै डिप्रेशन लागायत मानसिक समस्याको पहिचान गरी परामर्श तथा औषधि उपचार नगरेको खण्डमा तनाव कम गर्ने बहानामा बालबालिका साथीभाइसँग मादक पदार्थ, लागुपदार्थ लगायतको कुलतमा फस्ने जस्ता जोखिम हुने मनोचिकित्सक बताउँछन्।

साथीभाइसँगको संगत कस्तो छ? साथीभाई वा कसैबाट कुनै शारीरिक तथा मानसिक दुव्र्यवहार पो भइरहेको छ कि भन्ने विषयलाई पनि बुवाआमा तथा अभिभावकले ध्यान दिनुपर्ने हुन्छ।

कुनै मानसिक समस्या देखिए मनोविज्ञ तथा मनोचिकित्सकसँग मनोपरामर्श गराउनुपर्छ। यसरी मनोपरामर्श गराउनेमध्ये ८० प्रतिशतलाई औषधि नै सेवन गर्नुपर्ने डा. वझा बताउँछन्।

‘अधिकांश बालबालिकाको मनोसमस्या परामर्शबाट ठिक हुन्छ,’ डा. वझाले भने, ‘करिब २० प्रतिशत बालबालिकालाई भने औषधि आवश्यक पर्नसक्छ।’

आफन्त तथा घरपरिवारसँग घुलमिल तथा कुराकानी गर्ने, शारीरिक स्वस्थ्यलाई ध्यान दिने, निश्चित समयमा खानपान गर्ने तथा सन्तुलित खानपान गर्ने व्यवहार तथा जीवनशैलीमा ध्यान दिएको खण्डमा बालबालिका मानसिक रूपमा स्वस्थ रहन मद्दत मिल्ने डा. कार्की बताउँछन्।

‘आमाबुवा र बालबालिकाको बीचमा अन्तरक्रिया भइरहनुपर्छ, आमाबुवा तथा अभिभावकले बालबालिकासँग गुणस्तरिय समय बिताउनुपर्छ’, डा. कार्कीले भने।

बालबालिकामा डिप्रेशन नै भइहालेको खण्डमा औषधि उपचारपछि पूर्ण रूपमा ठिक हुनसक्ने उनले बताए।

आत्महत्याको आपतकालीन अवस्था
नेपालमा आत्महत्याको दर भने बढिरहेको छ। प्रत्येक दिन १८ देखि २० जनाले आत्महत्या गरिरहेको तथ्याङ्क देखिनु निक्कै भयावह अवस्था भएको बाल मनोचिकित्सक डा. कुँवर बताउँछन्। गत वर्षमात्रै करिब आठ हजार व्यक्तिले आत्महत्या गरेको र नेपालमा आत्महत्याको दर बढिरहनुलाई डा. कुँवर राष्ट्रिय आपतकालकै रूपमा लिन्छन्।

उनी भन्छन्, ‘हरेक वर्ष भूकम्प गइरहेको जस्तै छ।’

यदि तपाईँ मानसिक तनावबाट गुज्रिरहनुभएको छ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया यी हेल्पलाइनहरूमा सम्पर्क गर्नुहोस्। चौबिसै घण्टा चल्ने तथा पैसा नलाग्ने सरकारी हेल्प लाइन नम्बर ११६६ र शिक्षण अस्पताल काठमाडौंको हेल्प लाइन नम्बर १६६००१२१६००

वैशाख ३१, २०८१ सोमबार १०:०४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।