कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन्।
बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची छ।
कोशी प्रदेश सभामा ९३ सांसदमध्ये बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। एमाले र माओवादी केन्द्र दुवै दलका सांसदले उनलाई विश्वासको मत दिने देखिएको छ भने जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छन्।
कांग्रेसले भने प्रदेशसभाको बैठक बहिष्कार गर्ने जनाएको छ। त्यसबारे छलफल गर्न अहिले कांग्रेस प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ।
आइतबार कार्यसूची तयार गर्न बसेको बैठकमा कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने निष्कर्ष निकालेको थियो।
अर्को दल राप्रपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गरिसकेको छैन। कार्की वैशाख २७ गते तेश्रो पटक मुख्यमन्त्री बनेका हुन्।
मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सो रिटमा अदालतले निर्णय दिइसकेको छैन।
वैशाख ३१, २०८१ सोमबार ०८:३२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।